तीन दिनअगावै सबै मतदान केन्द्रमा पुगे कर्मचारी



रामधन राई, खोटाङ,

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन हुने तीन दिनअगावै सबै कर्मचारी खोटाङस्थित मतदान केन्द्रमा पुगेका छन्। मतपेटिका र मतपत्रलगायतका आवश्यकीय ६४ प्रकारका निर्वाचन सामग्रीसहित मतदान अधिकृत र सहायक मतदान अधिकृतलगायतका कर्मचारीको समूह सम्बन्धित मतदान केन्द्रतर्फ पुगिसकेको मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले बताउनुभयो। मंसिर १० गते हुने निर्वाचनलाई सफल बनाउनका लागि सोमबारदेखि बिहीबारसम्ममा निर्वाचन सामग्रीसहितका १ हजार ४ सय ३२ कर्मचारी मतदान केन्द्रतर्फ पठाइएको हो।

हरेक मतदान केन्द्रमा १ जना मतदान अधिकृत, १ जना सहायक मतदान अधिकृत सहित ८ जना कर्मचारी र सुरक्षाकर्मीको टोली रहने गरी कर्मचारीको व्यावस्थापन मिलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जन्तेढुंगा, बराहपोखरी, खोटेहाङ, साकेला, दिप्रुङ, केपिलासगढी, ऐसेलुखर्क, लामीडाँडा गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिकामा निर्वाचन सामग्रीसहितका कर्मचारी पुगिसकेका छन्। सदरमुकाम दिक्तेल रहेको रुपाकोट मझुवागढी नगरपालिकाभित्रका मतदान केन्द्रमा भने नजिक भएका कारण बिहीबार मात्र कर्मचारी पुगेको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो।

कतिपय कर्मचारी बस तथा ट्याक्टरमा निर्वाचन सामग्री बोकेर मतदान केन्द्र पुगेका छन्। यो पटक १ सय ३६ मतदानस्थल र १ सय ७९ मतदान केन्द्र तोकिएको खोटाङमा कर्मचारीसहित आवश्यक सुरक्षाकर्मी खटाइएका छन्। आसन्न निर्वाचनमा जिल्लाका १ लाख २५ हजार १ सय ८३ मतदाता सहभागी हुँदैछन्।

प्रतिक्रिया दिनुहोस्