ठाउँ–ठाउँमा नमुना मतदान, खस्यो ९३ मत, दुई मत बदर



हेटौंडा (नेस)
जिल्ला निर्वाचन कार्यालय मकवानपुरले बागमती गाउँपालिकाको फापरबारी, झुरझुरेमा नमुना मतदान गरेको छ। आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बदर मतको दर घटाउने उद्देश्यसहित निर्वाचन आयोगले जिल्लाको दुर्गम क्षेत्र लक्षित गरी नमुना मतदान कार्यक्रम गर्न निर्देशन दिएको थियो।

बागमती गाउँपालिका–७, फापरबारी, झुरझुरेमा गरिएको नमुना मतदानमा ९३ जनाले मतदान गरेका थिए। कुल खसेको मतमध्ये २ वटा मतमात्र बदर भएको जिल्ला निर्वाचन अधिकारी गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो। मतदानमा महिलाको उल्लेख्य सहभागिता रहेको बताइएको छ।

जिल्ला निर्वाचन कार्यालय मकवानपुरले मकवानपुरका ५ स्थानमा नमुना मतदान कार्यक्रम गर्ने जनाएको छ। शनिबार मकवानपुरगढी गाउँपालिकाको बूढीचौरमा पहिलो नमुना निर्वाचन गरिएको थियो। स्थानीय प्रभात महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहयोगमा जिल्ला निर्वाचन कार्यालयले मतदातालाई मतदान गर्ने प्रक्रिया सिकाउने उद्देश्यले नमुना मतदान कार्यक्रम गरेको हो। सहकारीको साधारणसभाको अवसर पारेर निर्वाचन कार्यालयले बूढीचौरस्थित रूपनारायण माविपरिसरमा नमुना मतदान गरेको हो।

नमुना मतदानअघि निर्वाचन कार्यालयका नायब सुब्बा दिनेश श्रेष्ठले निर्वाचनमा मतदान गर्ने प्रक्रियाबारे जानकारी गराउनुभएको थियो। नमुना मतदानका क्रममा युवा, वयस्क र ज्येष्ठ नागरिकको उपस्थिति थियो। ५३ जनाले मतदान गरेकोमा प्रत्यक्षतर्फ प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यतर्फ १÷१ मत मात्र बदर भएको थियो भने समानुपातिकतर्फ सबै मत सदर भएको थियो। स्थानीय तह निर्वाचनमा उल्लेख्य मत बदर भएपछि निर्वाचन कार्यालयले ग्रामीण क्षेत्रलक्षित गरी नमुना मतदान कार्यक्रम गरिएको जनाएको छ।

नमुना मतदान कार्यक्रममा भीमफेदी गाउँपालिकास्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी खटिएका थिए। मतदान गर्न मतदान केन्द्रमा जाँदा मतदाता परिचयपत्र बोक्नुपर्ने, मतपत्रमा स्वस्तिक छाप लगाउने, मतपत्र पट्याउने र मतपत्र खसाल्ने प्रक्रियाबारे नायब सुब्बा श्रेष्ठले जानकारी गराउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्