एकै समारोहमा ३ वर्षको अवार्ड प्रदान

0
Shares

चलचित्र समीक्षक समाजले २०७१, २०७२ र २०७३ साल गरी एकसाथ ३ वर्षको क्रिटिक्स अवार्ड प्रदान गरेको छ। प्राविधिक कारणले विगत ३ वर्षदेखि रोकिएको अवार्ड बुधबार राजधानीको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा सम्पन्न भएको हो।

२०७३ सालको उत्कृष्ट फिल्मको अवार्ड मीन भामको कालो पोथीले प्राप्त गर्दा पटकथामा पनि कालोपोथीबाट नै मीन भाम र अविनाशविक्रम शाहले अवार्ड चुमे। सेतो सूर्यबाट दीपक रौनियारले निर्देशक र डेभिड बार्करले सम्पादन तथा कालोपोथीबाट अजिज जम्भाकिभले छायांकन विधामा अवार्ड जिते। त्यस्तै जात्राबाट विपीन कार्की र पुरानो डुंगाबाट माओत्से गुरुङले उत्कृष्ट अभिनेताको अवार्ड चुम्दा लभ सासाबाट केकी अधिकारीले उत्कृष्ट अभिनेतृको अवार्डलाई आफ्नो बनाइन्।


२०७२ का लागि पशुपतिप्रसादले उत्कृष्ट फिल्मको अवार्ड चुम्दा पशुपतिप्रसादबाटै दीपेन्द्र के खनालले निर्देशन र खगेन्द्र लामिछानेले पटकथाको अवार्ड चुमे। छायांकन विधामा कबड्डी कबड्डीबाट शैलेन्द्र डी कार्कीले अवार्ड जित्दा क्लासिकबाट सुरेन्द्र पौडेलले सम्पादनमा बाजी मारे। सौगात मल्लले फन्कोबाट उत्कृष्ट अभिनेता र कबड्डी कबड्डीबाट रिश्मा गुरुङले उत्कृष्ट अभिनेतृको अवार्ड हात पारे।

यसै गरी समाजले यसअघि नै घोषणा गरिसकेको २०७१ को अवार्ड पनि बुधबार नै प्रदान गर्यो। जसमा उत्कृष्ट फिल्म कबड्डी, टलकजंग भर्सेज टुल्केबाट निर्देशक निश्चल बस्नेत, कबड्डीबाट पटकथामा रामबाबु गुरुङ तथा उपेन्द्र सुब्बा, छायांकनमा सुन्तलीबाट अन्ड्रा बेलिसिया, सम्पादनमा ताण्डवबाट बनिश शाह र मिलन श्रेष्ठ, पाश्र्व संगीतमा टलकजंग भर्सेज टुल्केबाट जेसन कुँवर, अभिनेतामा कबड्डीबाट दयाहाङ राई र अभिनेतृमा सुन्तलीबाट प्रियंका कार्की उत्कृष्ट घोषित भएका थिए।

कार्यक्रममा समाजका अध्यक्ष यज्ञशले कलात्मक, मौलिक र नयाँ तथा फरक शैलीको फिल्मलाई अवार्ड दिनुपर्छ भन्ने मान्यताले चलचित्र समीक्षक समाजले अवार्ड प्रदान गर्न थालेको बताए। कार्यक्रममा फिल्मकर्मी यादव खरेलले राष्ट्रिय चलचित्र नीतिलाई पनि जोड दिएर कलम चलाउन सुझाए।

Skip This