प्रतिनिधिसभा र प्रदेशसभाको आगामी निर्वाचन शिक्षाका लागि देशव्यापी रुपमा सडक नाटक मञ्चन गरिने भएको छ।
निर्वाचन अयोगद्वारा सञ्चालन गरिने मतदाता शिक्षा कार्यक्रमअन्तर्गत सडक नाटक मञ्चन गर्न लागिएको हो। सो सडक नाटकको काठमाडौंमा दुई दिने कार्यशाला सम्पन्न भएको छ।
सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) को संयोजकत्वमा निर्वाचन शिक्षासम्बन्धी सडक नाटक महादानको कार्यशाला नाचघरमै आयोजना गरिएको हो। कार्यशालामा सहभागी मुलुकका विभिन्न ३८ नाटक टोलीका निर्देेशकलाई गुरुकूल थिएटरका निर्देशक सुनील पोखरेल र सांस्कृतिक संस्थानका नाटक प्रशिक्षक वीरेन्द्र हमालले संयुक्त रुपमा नाट्य प्रशिक्षण दिएका छन्। निर्वाचन आयोग, मतदाता शिक्षा सूचना तथा तालिम शाखाका मुख्य प्रशिक्षक हेमराज अर्याल र ममता श्रेष्ठले बिहीबार नाट्यकर्मीलाई संयुक्त प्रशिक्षण दिए। यी दुई मुख्य प्रशिक्षकद्वयले महादान नाटकको विषयवस्तु र प्रस्तुतिसँगै मतदाता शिक्षाको जानकारी गराएका थिए।
मुलुकका ७७ जिल्लामै सडक नाटक गर्ने जिम्मा सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले पाएको संस्थानका महाप्रबन्धक राजेश थापाले जानकारी गराए। ‘सोही अनुसार हामीले मुलुकमा स्थानीय ३५ र सांस्कृतिक संस्थानका ३ गरी ३८ नाट्य टोलीलाई आफ्नो जिल्ला आसपासका अरू जिल्लामा पनि नाटक मञ्चनका लागि परिचालन गर्दैछौं। ती ३५ ओटै नाट्य समूहका निर्देशक तथा मुख्य कलाकारले काठमाडौंमा आएर नाटक महादान मञ्चनबारे दुई दिने प्रशिक्षण पनि लिएका छन्’, उनले भने– ‘मुगुलगायतका विभिन्न दुर्गम क्षेत्रबाट समेत नाट्य टोली प्रशिक्षणमा सहभागी भएकाले यी दुर्गम जिल्लाका स्थानीय तहमा पनि नाटक महादान मञ्चन हुने पनि महाप्रबन्धक थापाले बताए।











प्रतिक्रिया