कलाकर्मीले बाँडे शुभकामना

0
Shares

बनेपा, (नेस)। तिहार, नेपाल सम्वत् र छठ पर्वको अवसरमा नाट्यकर्मी महासंघ नेपाल काभ्रे र नृत्य निर्देशक संघ काभ्रेको संयुक्त आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा कलाकारलाई राष्ट्रको पाँचौ अंगको मान्यता दिनुपर्ने कलाकारहरूले आवाज उठाए।

कार्यक्रममा नाट्यकर्मी महासंघ नेपालका अध्यक्ष विजय विस्फोटले कलाकारका हकहितका लागि राजनितिक दलहरूले ठूला कुरा मात्रै गर्दै आएको बताए। सरकार तथा दलहरूले कलाकारहरूका लागि कुनै कुरा नसोच्ने गरेको तर सार्वजनिक कार्यक्रमहरूमा भने कलाकार राष्ट्रको गहना भनेर फलाक्ने गरेको बताए। यस्तै नृत्य निर्देशक संघ नेपालका केन्द्रीय उपाध्यक्ष सञ्जय शर्मा राजोपाध्यायले सरकारले कलाकारलाई राष्ट्रको पाँचौ अंगका रूपमा मान्यता दिनुपर्ने आवाज उठाए। राप्रपा प्रजातान्त्रिकका जिल्ला सचिव तथा नाटइ्कर्मी महासंघ नेपालका आजीवन सदस्य राजेन्द्र केसीले सबै राजनीतिक दलहरूले योजना तथा नीति निर्माण गर्दा कलाकार तथा कलाकर्मीको लागि पनि योजना तथा नीति अनि बजेट छुटइएको खण्डमा नेपाली कलाकार तथा कला क्षेत्रको विकास हुन सक्ने बताए।

जिल्लाका कलाकारको बाक्लै उपस्थिति रहेको कार्यक्रममा नाटइ्कर्मी महासंघका केन्द्रीय सचिव टिकाभक्त जिरेल, केन्द्रीय सदस्य कमल दाहाल, नृत्य निर्देशक संघ काभ्रेका संयोजक मोहन तौजले, प्रेस चौतारी काभ्रेका अध्यक्ष भुवन रायमाझीलगायतले नेपाली कलाक्षेत्रका समसामयिक विषयमा धारणा राखेका थिए। नाटइ्कर्मी महासंघ नेपाल काभ्रेका अध्यक्ष अमरकृष्ण चन्दको सभापतित्त्वमा सम्पन्न कार्यक्रममा उद्योग राज्यमन्त्री रेशम लामा, पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना र नाट्यकर्मी महासंघका आजीवन सदस्य राजेन्द्र केसीलाई सम्मान गरिएको थियो। लोक गायक मदन विष्ट, सावित्री राना मगर, रविन्सन श्रेष्ठलगायतले गीत पस्केका थिए भने रोनी श्रेष्ठलगायत थुप्रै कलाकारले आकर्षक नृत्य गरेका थिए।

Skip This