चन्दाको एकल साँझ

0
Shares

 

विर्तामोड, (नेस)। झापामा गायिका चन्दा देवानको एकल सांगीतिक साँझ सम्पन्न भएको छ। झापाको पुरानो स्कुल शनिश्चरे माध्यमिक विद्यालयको भौतिक पूर्वाधार सुधार सहयोगार्थ शनिबार विर्तामोडको अतिथि सदनमा गायिका देवानको एकल सांगीतिक साँझ गरिएको हो।

२०३८ सालमा एसएलसी परीक्षा दिएका पूर्वविद्यार्थीको समूह हामी ०३८ साले, हामी सहयात्री अभियान दिएर आयोजना गरेको एकल सांगीतिक साँझमा गायिका देवान ओलीले आफ्ना नयाँ तथा पुराना ११ गीत प्रत्यक्षरूपमा प्रस्तुत गरिन्। हामी ०३८ सेका संयोजक शेखर प्रधानको नेतृत्वमा रहेको समूहले एकल साँझबाट विद्यालयको भौतिक पूर्वाधारको सुधार गर्ने अपेक्षा लिएको छ।

गायिका देवानले २०५७ सालमा ल्याएको एल्बम नीलो आकाशबाट चारैतिर गुञ्जिरहोस्, नीलो आकाश, आँखाभरि, तिमी शिखरलगायत ११ वटा गीत प्रस्तुत गरिन्। उनले विद्यालयका शिक्षकसमेत रहेका संगीत साधक हस्त परियारको संगीत र पत्रकार गोपीकृष्ण खनालको शब्द रहेको सोधम् है एउटा कुरा बोलको चर्चित गीत पनि प्रस्तुत गरिन्।

शिक्षक परियारले बजारमा ल्याएको पहिचान एल्बममा समेटिएको उक्त गीत चन्दाले परियारसँगै कार्यक्रममा प्रस्तुत गरेकी थिइन्। चन्दाको अहिलेसम्म आधा दर्जन एल्बम सार्वजनिक भइसकेको छ। चन्दा शनिश्चरे माविकी पूर्वविद्यार्थी हुन्। कार्यक्रममा संगीत साधक, साहित्यकार, शनिश्चरेका शिक्षक, पूर्वविद्यार्थी, समाजसेवी, सञ्चारकर्मीलगायतको उपस्थिति थियो।

Skip This