यौन पुराण



रोहिणी घिमिरे
हाम्रो समाज यौनका कुरा गर्न लजाउँछ। यद्यपि, यसबारे विद्यार्थीलाई पढाउनुपर्दा शिक्षकहरू नै खुलेर पढाउन सक्दैनन् भने अभिभावकले आफ्ना छोराछोरीलाई यौनका बारेमा शिक्षा दिनु झनै परको कुरा हो। यतिसम्म कि यौनका विषयमा लेखिएका पुस्तक, पत्रपत्रिका पनि लुकेर पढ्नेहरू हाम्रो समाजमा धेरै छन्। यसरी खुलेआम छलफल नहुने र सधैँ लुकाइने विषय भएकाले नै होला, यसबारे प्रायः सबैमा चासो अनि जिज्ञासा उत्पन्न भइरहन्छ। यही चासो र जिज्ञासा मेटाउने उद्देश्यले बुकआर्ट नेपालले ‘मात्र यौनका कुरा’ नामको पुस्तक प्रकाशन गरी बजारमा ल्याएको छ।

पुस्तकको नाम हेर्दा किशोर–किशोरीको मन तान्ने अश्लीलताले भरिएको पुस्तक होलाजस्तो लाग्छ। तर यो पुस्तक श्लील छ, सस्ता र छाडा शब्दहरू यसमा देखिँदैनन्। धुलिखेल अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. सुमनराज ताम्राकारद्वारा लिखित यस पुस्तकले यौनसम्बन्धी कुनै पनि जिज्ञासा मेटाउने देखिन्छ। विषय सूचीमा उल्लिखित १ सय ३१ वटा शीर्षकले नै यस कुराको इंगित गर्दछ। यसमा यौनका विषयमा यति धेरै कुरा समेटिएको छ कि लाग्छ, यो एउटा यौनपुराण हो।

तर यस पुस्तकमा एउटा पनि तस्वीर राखिएको छैन। जबकि यौन आसनहरूका बारेमा जानकारी दिन स्केच बनाएर राख्न सकिन्थ्यो, किनकि शब्द मात्रैले भन्दा चित्रसमेत दिँदा बढी छर्लङ्ग्याउन सकिन्थ्यो। तर यौनका बारेमा विनाचित्र शब्दद्वारा नै छर्लङ्ग्याउन लेखक डा. ताम्राकार सफल भएका छन्। एलोप्याथिक डाक्टर, त्यो पनि स्त्रीरोग विशेषज्ञ भएकाले होला जीवनमा आइपर्ने हरेक यौनसमस्याको समाधान गर्ने कोशिश डा. ताम्राकारले पुस्तकमा गरेका छन्।

लेखक आफैं साहित्यकार पनि हुन्। ‘जोसुकैलाई यौन परिकल्पना वा यौन परिदृश्यपछि वास्तवमा स्पर्श गर्न पाए हुन्थ्यो भन्ने भोक हुन्छ।’ पुस्तकमा उल्लिखित यो वाक्य कति साहित्यिक छ। खाना देखेर भोक जागेजस्तै यौनिक दृश्य वा कल्पनाले यौन–भोक जाग्छ भन्ने कुरा यस वाक्यले दर्शाएको छ। यसमा न अश्लीलता छ, न बुझ्नलाई जटिलता ? साहित्यिक भावधारामा लेखिएकाले पुस्तक पठनीय पनि छ।

लेखक डा. ताम्राकारले वात्स्यायनको प्राचीन कामसूत्रका कुरादेखि अहिलेको पोर्नोग्राफीसम्मका कुरा पुस्तकमा उल्लेख गरेका छन्। विवाहपूर्वको सम्बन्धदेखि विवाहइतरका सम्बन्धबाट आइपर्ने समस्यालाई पनि केलाएका छन्। यौनका मामलामा खानपानका कुरा, भियग्रा, यार्सागुम्बाजस्ता यौनोत्तेजक औषधि, यौनखेलौनाको प्रयोगका बारेमा पनि यथेष्ट जानकारी दिइएको छ। यौनजीवन कसरी सफल बनाउन सकिन्छ भन्ने कुरामा लेखक सफल नै देखिन्छन्। यो पुस्तक पढेर यौनजीवन सुखमय बनाउन सकिनेमा विश्वस्त हुन सकिन्छ।

यौनसँग सम्बन्धित पहिरनका कुरा उठाएर पहिरनलाई पनि यौनसँग जोड्नु लेखकको खूबी मान्नुपर्छ। यस पुस्तकलाई विद्यालय एवं कलेजस्तरीय यौनशिक्षा विषयको सन्दर्भ पुस्तकका रूपमा लिन सकिन्छ। त्यसैले यौनका विषयमा खोज–अनुसन्धान गर्ने खोजकर्ता, यौनशिक्षाका विद्यार्थी, लेखक अनि किशोरावस्थादेखि वृद्धावस्थासम्मका महिला–पुरुष जोसुकैका लागि पुस्तक संग्रहणीय छ। पुस्तकको मूल्य रु. १९५।– समय सुहाउँदो नै मान्न सकिन्छ।

 

 

प्रतिक्रिया दिनुहोस्