राष्ट्रिय परीक्षा बोर्डमा पौडेल



 

काठमाडौं, (नेस)
उपप्र्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा प्राडा चन्द्रमणि पौडेलको फाइल सदर गरी मन्त्रिपरिषद्मा पेस गर्ने तयारी गर्नुभएको छ।

नेपाल समाचारपत्रमा समाचार प्रकाशित भएपछि उहाँले अध्यक्ष नियुक्ति नगर्नुमा आफ्नो कुनै दोष नभएको बताउनुभएको छ। अर्थ मन्त्रालयले सहमति नदिएका कारण केही दिन ढिलाइ हुनपुगेको जानकारी गराउँदै उहाँले अध्यक्षको सेवा सुविधा पछि तोक्ने गरी फाइल मन्त्रिपरिषद्मा पठाउने गरी तयारी भएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘मैले अध्यक्ष नियुक्तिको फाइल रोक्नुको कुनै कारण छैन, अर्थको सहमति नआएकोले ढिलाइ भएको हो।’

उहाँले विशिष्ट तहको कर्मचारीको सेवा सुविधाको तय गर्न अर्थ मन्त्रालयको सहमति लिनुपर्ने भएकाले अध्यक्ष नियुक्तिको फाइल केही दिन ढिलो हुनपुगेको स्पष्ट पार्नुभयो। उहाँले अन्य सदस्यको नियुक्ति नियमअनुसार नै भएकोसमेत बताउनुभयो। मन्त्री श्रेष्ठले आफूले शिक्षा मन्त्रालय वा मातहतका निकायको कुनै पनि काम कारबाहीलाई ढिलाइ नगरेको स्पष्ट पार्दै आफू मन्त्री भएयता विभिन्न महत्त्वपूर्ण काम भइरहेको जानकारी गराउनुभयो।

प्रतिक्रिया दिनुहोस्