अनुभूतिको शिलाजित– भूगोलमा पाइलाहरु



 

रामसुन्दर देउजा
मोहन दुवाल नेपाली साहित्यका अविचल सेवक हुन्। कक्षा ९ मा अध्ययनरत हुँदा नै नेपालभाषाको कवितासङ्ग्रह ‘चुलिजाःगु स्वाँ’ पुस्तक कृति प्रकाशन गरेदेखि नै निरन्तर सक्रिय छन् उनी साहित्यमा। हालै उनको ‘भूगोलमा पाइलाहरु’ नामक कृति प्रकाशनमा आएको छ। यस कृतिलाई ‘सहकारी पोष्ट’ राष्ट्रिय त्रैमासिक पत्रिकाले प्रकाशन गरेको हो। मोहन दुवाल सहकारी पोष्ट (त्रैमासिक) का सल्लाहकार पनि हुन्।

विधान जोशी सहकारी सङ्घसंस्थामा क्रियाशील भएर लागेका एकजना सक्रिय युवा व्यक्तित्व हुन्। जनमतको विविध कार्यक्रममा दिलोज्यानले सहयोग गर्दै आएका व्यक्तित्व पनि हुन्। सहकारी क्षेत्रमा सहकारीसम्बन्धी पत्रकारिताको टड्कारो खाँचो देखिएकोले सहकारीसम्बन्धी पत्रिका प्रकाशन गर्न सुझाए। सम्पादनको लागि जनमतमा सक्रिय हातेमालो गर्दै अगाडि बढिरहेका कारणले जनमत र सहकारी पोष्टका थुप्रै यात्राहरु सँगसँगै भएका छन्। यसबाहेक जनमतको तर्फबाट मोहन दुवालले थुप्रै यात्राहरु भोगेका छन्। यिनै यात्राहरुको सँगालोलाई ‘भूगोलमा पाइलाहरु’ नियात्रासङ्ग्रहको रुपमा सहकारी पोष्टले प्रकाशनमा ल्याएको हो। यस पुस्तकभित्र ४७ वटा यात्राका अनुभूतिहरु सँगालिएका छन्, जसमध्ये ३ वटा यात्राहरु जनमत र सहकारी पोष्टका सँगसँगै गरिएका यात्राहरु सँगालिएका छन्। अन्य यात्राहरु अर्को पुस्तकमा आउलान्।
यस पुस्तकभित्र समेटिएका यात्राहरुमा झापा, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, पर्सा, नुवाकोट, ललितपुर, काभ्रे, कास्की, नवलपरासी, रामेछाप, चितवन, बागलुङ, म्याग्दी, पर्वत, स्याङ्जा, तनहुँ र कैलाली जिल्ला समेटिएका छन् भने भारतको राजस्थानस्थित माउन्ट आबुका सन्दर्भहरु पनि रहेका छन्। विशेषगरी चितवन यात्रा र माउन्ट आबु यात्रालाई शृङ्खलाबद्धरुपमा प्रस्तुत गरिएको छ। यस पुस्तकभित्र साहित्यका विविध भोगाइहरु छरपष्ट छन्। यस कृतिको मूल्य रु. ५००⁄– राखिएको छ।

दुवालको विशेषता भनेको आफूले भ्रमण गरेको अनुभूतिलाई तुरुन्त अक्षर विम्बमा टिपिहाल्ने भएकोले रोचक–घोचक सन्दर्भहरु पनि तुरुन्तै पाठकहरुले स्वाद लिन पाउनु हो। सजिलो, असजिलो अवस्था, प्राकृतिक वर्णन, मनका अनुभूति र परिवेशलाई मनोवैज्ञानिक ढङ्गले केलाई प्रस्फुटन गर्ने उनको शैलीले पाठकहरुलाई थप रोमाञ्चकता दिन्छ। आफ्नो सम्पूर्ण जीवन नै साहित्यसेवामा खन्याएका दुवाल एक अथक् योद्धा हुन्। दामोदर पुडासैनी ‘किशोर’का शब्द सापटी लिएर भन्नुपर्दा ‘भूगोलमा पाइलाहरु’ पुस्तक अनुभूतिको शिलाजीत बनेर जन्मिएको छ।

प्रतिक्रिया दिनुहोस्