कसरी चिमोट्ने ?



काठमाडौं महानगरपालिकामा नवनिर्वाचित पदाधिकारी आएपछि यहाँको फोहोर चाहिँ टुंगो लाग्ला कि भन्ने धरहराको अपेक्षा व्यर्थ हुने हो कि भन्ने डर लागेको छ। किनकि अहिले पनि पहिलाको जस्तै जुम्सो पारा यथावत् देखिएको छ।

अझ अर्को कुरा त के भने दिउँसोको समयमा राजधानीका कतिपय स्थानमा फोहोर लिएर हिँडिँदो रहेछ। केही दिनअघिको कुरा हो बबरमहलमा सवारी साधनमा हिँडिरहेका मान्छे नाक थुन्दै हिँडेको देखियो।

चर्को घाम र गर्मीले एक जनाले त वान्ता नै गर्दै गरेको समेत देखियो। के परेछ यस्तो भनेर धरहराले दूरविन अझ सोझ्याएको त त्यहाँ ट्रकमा हालेर फोहोर तपतपी चुहाउँदै लगिदै रहेछ। त्यो असह्य भएर मानिसहरूले वान्ता गर्न थालेका रहेछन्।

होइन नयाँ पदाधिकारी महोदयहरूले यो के गरेको होला ? यस्तो गाईजात्रा त देखाउन पाइएन नि।

बरु राति सुनसान सडकमा त्यस्तो फोहोर ओसार्दा ठीक हुन्थ्यो कि ?

दिउँसोको चर्को घाममा जाम भएको स्थानमा त्यस्तो सामान लिएर हिँड्दा त शहरको शोभा कहाँ पुग्ला ?

बाहिरबाट आएका पर्यटक पनि त्यहाँ नजिकै रहेछन् भने के सोच्लान् ?

काठमाडौंलाई गन्हाउने शहर भनेर नामकरण गरेर पश्चिमा मिडियामा लेख आउन थाले भने के होला ?

यति सानो कुरामा पनि ध्यान नदिने महोदयहरूलाई कसरी घैंटामा घाम लाग्ने गरी चिमोट्ने होला ?

प्रतिक्रिया दिनुहोस्