पहिलो चुनावको घाउ, हत्यारालाई कारबाही गर्न पत्नीको माग



चिरञ्जीवी मास्के, दोलखा

पहिलो चरणको स्थानीय तहको निर्वाचन प्रचारको क्रममा माओवादी केन्द्रका नेता कार्यकर्ताको आक्रमणमा परी मृत्यु भएका दोलखा गौरीशङ्कर गाउँपालिका वडा नम्बर १ जुँगुका कुलबहादुर तमाङको हत्यामा संलग्नहरूलाई स्थानीय प्रशासनले पक्राउ नगरेको भन्दै मृतकका आफन्तले आपत्ती जनाएका छन्।

मंगलबार पत्रकार सम्मेलन गरी मृतककी पत्नी ३५ वर्षीया साङमाया तामाङले आफूलाई विधुवा बनाउने अभियुक्तहरू खुलेआम हिँडिरहेको र उल्टै आफ्नो छोरा तथा ससुरालाई मार्ने धम्की दिएको भए पनि स्थानीय प्रशासनले उनीहरुलाई पक्राउ गरी कानुनी कारबाही गर्न चासो नदिएको आरोप लगाइन्।

गौरीशङ्कर गाउँपालिका–१ जुँगुमा वडा सदस्यका उम्मेदवार गोरे तामाङको छोरा कुलबहादुर तमाङलाई गत वैशाख २६ गते बेलुका जुँगु नीलकण्ठेश्वर मावि नजिक होटलमा बसिरहेको अवस्थामा माओवादी केन्द्रका नेता–कार्यकर्ताले आक्रमण गरी हत्या गरेका थिए। तमाङको मृत्युपछि उनको बाबु गोरे तामाङले माओवादी केन्द्रका नेता पूर्वराज्यमन्त्री देवी खड्का, विशाल खड्कालगायत ३९ जनाको नाममा कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए। तामाङको हत्या भएको भोलिपल्ट घटनामा संलग्न भएको आरोपमा ८ जनालाई पक्राउ गरिएको भए पनि त्यसपछि किटानी जाहेरीमा परेका अन्य कोही पनि पक्राउ नगरिएको गौरीशङ्कर गाउँपालिकाका उपप्रमुख एवं एमाले नेता उर्मिला केसी थामीले बताइन्।

प्रहरी हिरासतमा रहेका ८ जनालाई पनि गाउँलेले पक्राउ गरी प्रहरीलाई बुझाएको केसीको भनाइ छ। घटनाको भोलिपल्ट प्रहरीले देवी खड्का र विशाल खड्कालाई नियन्त्रणमा लिए पनि सुरक्षित ठाउँमा लगेर छोडिदिएको मृतकका आफन्तको आरोप छ। मृतककी पत्नी साङमाया आफ्नो छोरा ११ वर्षीय अशोक तामाङ र छोरी १४ वर्षीया संगीता तामाङलाई समेत अभियुक्तहरुले स्कुल जाँदा मानसिक यातना दिने गरेको र अभियुक्तहरु खुलेआम हिँड्दा आफूहरुसमेत सुरक्षित ढंगले बस्ने अवस्था नभएको बताउँछिन्।

मृतकका बाबु गोरे तामाङ छोराको मृत्युले आफूहरु मानसिकरूपमा विक्षिप्त रहेको र अहिले पनि विभिन्न ठाउँबाट आफूहरुको ज्यान मार्ने धम्की आइरहेको बताउँछन्। स्थानीय प्रशासनले किटानी जाहेरीमा परेकाहरुलाई पक्राउ नगरेका कारण गाउँमा अहिले पनि उनीहरुले विभिन्न तरिकाले धम्की दिइरहेकाले सुरक्षाको प्रत्याभुतीका लागि पहल गरिदिन र अभियुक्तहरुलाई पक्राउ गरी कानुनी शासनको पालना गराउन दबाब दिन पत्रकार, अधिकारकर्मी र नागरिक समाजसँग आग्रह गरिएको मृतकका बाबु गोरे तमाङ बताउँछन्।

मृतकका आफन्तहरु स्थानीय प्रशासनले अभियुक्तहरुलाई पक्राउ गरी कानुनी कारबाही अगाडि नबढाए प्रतिरोधमा उत्रन बाध्य हुनुपर्ने बताउँछन्। हत्यामा संलग्नहरुलाई पक्राउ गरी कानुनी कारबाही गराउन पहल गरिदिन भन्दै मृतकका बाबु गोरे, पत्नी साङमाया तमाङ, छोरी संगीता तामाङ, छोरा अशोक तामाङ, स्थानीय गाउँले लगायतको समूह सदरमुकाम चरिकोट आएको छ। उनीहरुले स्थानीय प्रशासनलाई समेत कारबाहीमा तदारुकता देखाउन आग्रह गरेका छन्।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रविन कार्की घटनामा संलग्नको आशंकामा अहिलेसम्म ९ जनालाई पक्राउ गरिएको र अनुसन्धान जारी रहेको बताउँछन्। ‘अब हामी छिट्टै अनुसन्धान सकेर मुद्दा अदालतमा बुझाउने तयारीमा छौं’ –प्रहरी नायव उपरीक्षक कार्कीले भने।

प्रतिक्रिया दिनुहोस्