उड्डयन सुरक्षामाथिको प्रश्न



शनिबार दिउँसो काठमाडौंबाट सोलुखुम्बुको लुक्लाका लागि छुटेको गोमा एयरको कार्गो विमान दुर्घटनामा परेको छ । लुक्लाको तेन्जिङ हिलारी विमानस्थलमा अवतरणका क्रममा ‘नाइन एनएकेए’ कल साइन भएको विमान दुर्घटनामा परेको हो । अवतरणका क्रममा रनवेबाट बाहिरिएको विमान विमानस्थल नजिकैको रुखमा ठोकिएको थियो । सो घटनामा परेर विमानका चालक पारस राईको निधन भएको छ भने सहचालक सिर्जन मानन्धर र विमान परिचालिका प्रज्ञा महर्जन घाइते भएका छन् ।

मौसमका कारणले सो दुर्घटना भएको बताइएको छ । कमजोर भिजिविलिटी र हावाको चापका कारण रनवेबाट बाहिरिएको विमान दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मौसमका कारणले सोलुखुम्बुमा हवाई दुर्घटना भएको यो पहिलोपटक भने होइन, यसअघि लुक्ला विमास्थल र अन्यत्र पनि दर्जनौं पटक साना–ठूला दुर्घटना भएका उदाहरण छन् । लुक्ला आन्तरिक हवाई उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछिको व्यस्त विमानस्थल हो । यससँगै मुलुकका अति जोखिम र जटिल भू–बनोट भएको विमानस्थलको सूचीमा लुक्ला रहेको छ ।

हवाई दुर्घटना घटाउन मौसमी सूचना अत्यावश्यक मानिन्छ । तर, शनिबार लुक्ला प्रस्थान गरेको सो विमानले भने त्रिभुवन विमानस्थल परिसरमा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाबाट मौसमी सूचना नलिएको बताइएको छ । महाशाखाले आम सर्वसाधारणसहित हवाई उडान हुने राष्ट्रिय⁄अन्तर्राष्ट्रिय मार्ग र गन्तव्यमा हुन सक्ने सम्भावित मौसम गडबडीको सूचना अग्रिमरूपमा सम्प्रेषण गर्दै आएको छ । हवाई भिजिविलिटी, हावाको बेगमा आउन सक्ने उतारचढाव, वर्षाजस्ता कुराको पूर्वानुमान, पूर्वसूचना र तथ्यांक (‘मेटार’ सूचना) महाशाखाले सम्प्रेषण गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय हवाई उडानका लागि अत्यावश्यक मौसमी सूचना र तथ्यांक प्रदान गर्ने उद्देश्यका साथ नेपालमा सन् १९६६ मा तत्कालीन जलस्रोत विभागअन्तर्गत मौसम शाखा स्थापना भएको थियो । त्यसअघि भारतीय मौसम विभागले भारतको कोलकाता हुँदै नेपाल आउने विमानका लागि मौसमको पूर्वानुमान बताउने गथ्र्यो । १९६६ मा नेपाल विश्व मौसम संगठनको सदस्य बनेपछि भने स्वदेशबाटै हवाई उडानको मौसमी सूचना सम्प्रेषणको अभ्यास शुरु भएको मानिन्छ ।
विदेशबाट झिकाइएका प्राविधिकहरूको सहयोगमा सन् १९७० देखि अन्तर्राष्ट्रिय मापदण्डअनुसार नेपालले विधिवतरूपमा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक मौसमी सूचना सम्प्रेषण गर्न थालेको बताइन्छ । त्यो बेलादेखि नै अन्तर्राष्ट्रिय उडानका लागि तयार गरिने सूचना आन्तरिक हवाई कम्पनीका लागि पनि उपयोगी मानिए पनि आन्तरिक कम्पनीका चालक र प्राविधिकहरु महाशाखाको नियमित सम्पर्कमा नआउने मौसमविद्हरुको दाबी छ । त्यसो त, हवाई दुर्घटना विमानको प्राविधिक गडबढी र विमानस्थलको जटिल भू–बनोटले पनि हुने गर्छ ।

तर, हवाई उडानका लागि महाशाखाले हरेक घण्टा अद्यावधिक गर्ने ‘मेटार’ सूचनालाई गम्भीरतापूर्वक अनुशरण गर्ने हो भने धेरै हदसम्म हवाई दुर्घटना घटाउन सकिन्छ । तर, दुर्घटना भएपछि छानविन समिति गठन गर्ने, छानविन समितिले चालकलाई दोष दिने र समितिले गरेका सिफारिसको कार्यान्वयन नहुने श्राद्धमा बिरालो बाँध्ने शैलीले गर्दा यस्ता दुर्घटना बारम्बार हुँदासमेत सरकारले खासै ध्यान दिएको पाइँदैन । त्यसैले उड्ययन क्षेत्रलाई सुरक्षित गर्नका लागि आवश्यक कदम चाल्न ढिलो नगरौं ।

प्रतिक्रिया दिनुहोस्