भक्तपुर नगरमा माहौल बनाउँदै कासुला



पुष्कर बुढाथोकी, भक्तपुर

देशका अन्य नगरपालिका मध्य भक्तपुर नगरमा स्थानीय निर्वाचनको छुट्टै र बेग्लै महत्त्वले हेरिन्छ।नेपाल मजदुर किसान पार्टीको केन्द्रीय कार्यालय रहेको र नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेको गृह नगरसमेत भएकाले र यहाँ नेमकिपाले यसअघि जित्दै आएकाले पनि देशभरका बासिन्दाको ध्यान यसतर्फ खिचिने गर्छ।

हुन पनि नेमकिपाले आफ्नो संगठन बलियो भएको अनुभूति गर्ने देशकै यही एक नगर हो ,भक्तपुर तर यही नगरमै नेमकिपासँग प्रतिस्पर्धा गर्ने आँटका साथ चुनाबी मैदानमा होमिनुभएको छ ,नेपाली कांग्रेसका नेता रामप्रसाद कासुला।यसअघि नै संविधान सभाका सभासद् भइसकेका र नेमकिपा पार्टी सचिवसमेत रहिसकेका सुनिल प्रजापतिसँग भक्तपुर नगरको मेयर पदमा प्रतिस्पर्धा गर्दै छन् कासुलाले।

भक्तपुर नगरलाई नेमकिपाको गढ मानिए पनि यसलाई गलत साबित गर्न लागि परेका छन् अन्य दलहरु र त्यसमा धेरैको ध्यान मुख्य प्रतिस्पर्धीका रूपमा कासुला देखिएकाले पनि स्थानीयको ध्यान उनीतर्फ खिचिएको हो। पहिला नेमकिपामै रहेका तर अहिले माओवादी केन्द्रबाट मेयरमा उठेका सत्यलाल मूलले समेत नेमकिपाको मत तान्ने भएकाले र नेमकिपापछि नेपाली कांग्रेसको संगठन बलियो भएकाले पनि आशावादी छन् मेयरका उम्मेदवार कासुला।

भक्तपुर नगरपालिकामा कांग्रेसको तर्फबाट मेयरको उम्मेदवार रहेका कासुलाले भक्तपुरको समग्र विकासका साथै यहाँको शिक्षा, खानेपानी सडक र ढल निकासको समस्यालाई समाधान गर्न आफ्नो उम्मेदवारी रहेको बताउनुभयो। कासुलाले भक्तपुर नगरलाई शैक्षिक गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको बताउनुहुन्छ। उहाँले नगरलाई पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्ने र युवालाई स्वदेशमै रोजगारीको व्यवस्था गर्ने अजेन्डा अघि सार्नुभएको छ।

व्यवस्थित ढल, हनुमन्ते खोलाको व्यवस्थापन, खानेपानी व्यवस्थापनलगायतका योजना पनि उहाँका छन्। बिसं २०२९ मा जन्मिएका र २०४६ सालदेखि राजनीतिमा पवेश गरेका कासुलाले स्नातकसम्मको अध्ययन गरेका छन्। पर्याप्त स्रोत साधन भएको नगरलाई यसको सदुपयोग गरी पूर्वी एसियाली मुलुकको विकासको दाँजोमा पुर्याउने उहाँको प्रतिबद्धता छ।

कासुला भन्नुहुन्छ, ‘सबैको पहुँच पुग्ने गरी ख्वप विश्वविद्यालय बनाउने, भूकम्प पीडितका लागि अझ बढी काम गर्ने, नगरलाई पर्यटकीय गन्तव्य बनाउने, खोलानाला सफा बनाउने, हनुमन्ते करिडोर निर्माण गर्ने, सुविधा सम्पन्न नगर यातायातको व्यवस्था,मौलिक उत्पादनको उद्योगलाई प्रोत्साहन,व्यवस्थित बजारीकरणलगायत सबै ढंगले नगरलाई समग्र रूपमा विकसित र समृद्ध बनाउँदै यहाँ बासिन्दाको मुहार हँसिलो पार्ने मेरो सोच छ।

नेकपा एमालेका तर्फबाट भने भक्तपुर नगरपालिकाको मेयरमा विष्णु सुवाल, राप्रपाले मेयरमा रविकृष्ण श्रेष्ठलाई उम्मेद्वार बनाएको छ। राष्ट्रिय जनमोर्चा नेपालले भक्तपुर नगरपालिकामा मेयरमा रामभक्त किजू, त्यसै गरी संघीय समाजवादी पार्टी, नयाँ शक्ति पार्टी र देशभक्त गणतान्त्रिक मोर्चाले संयुक्त प्यानल बनाएर मेयरमा विष्णुप्रसाद निसुतु (मोचा )र स्वतन्त्र उम्मेदवार भक्तपुर नगरपालिका तचपालका गोपालदास वनेपालीले पनि मेयरमा उम्मेदवारी दिनुभएको छ। सबै पार्टी र उम्मेदवार यतिबेला जनताको घरदैलोमा भोट माग्न ब्यस्त छन्।

प्रतिक्रिया दिनुहोस्