नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नो सातौं वार्षिकोत्सवको अवसर पारेर यस वर्षको नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०७३ प्रदान गरेको छ। प्रतिष्ठानले विभिन्न चार विधामा सो पुरस्कार प्रदान गर्दै आइरहेको छ। यस वर्ष पनि चार विधामा पुरस्कार प्रदान गरिएको हो।
बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहबीच प्रमुख अतिथि राष्ट्रपति विद्यादेवी भण्डारीले संगीत, नाटक, नृत्य र लोक संगीतनाट्य विधामा जनही १ लाख १ रुपियाँ र ताम्रपत्रसहित विभिन्न स्रष्टालाई पुरस्कृत गरिन्।
यस वर्ष नाट्य विधातर्फ नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०७३ नाटक तथा रंगकर्ममा लामो समयदेखि योगदान पुर्याएबापत नाटककार तथा रंगकर्मी अशेष मल्ललाई प्रदान गरिएको छ भने संगीततर्फ नेपाली गीत–संगीतको संरक्षण एवं प्रवद्र्धनमा निरन्तर योगदान पुर्याएबापत गायक तथा संगीतकार नारायणभक्त श्रेष्ठ (रायन) लाई प्रदान गरिएको छ। यस्तै नृत्यतर्फ नृत्य क्षेत्रमा लामो समयदेखि योगदान पुर्याएबापत नृत्यकार एवं नृत्य निर्देशक राधेश्याम प्रधान र लोक गीततर्फ लामो समयदेखि लोक गायनमा योगदान पुर्याएबापत चन्द्रकला शाहलाई प्रदान गरिएको छ।
समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले अहिलेको समयमा कविता, साहित्य, संगीत र नाट्य विधालाई राष्ट्रिय भाव शैलीको बनाउन आवश्यक रहेको चर्चा गर्दै त्यसमा प्रतिष्ठानले विशेष अभियान चाल्नुपर्नेमा जोड दिइन्। ‘प्रतिष्ठानले संगीत, कविता, साहित्य, नाटकजस्ता विधाको विकासका लागि चालेको प्रादेशिक अभियानले पक्कै पनि एउटा नयाँ आयाम थप्नेछ’, राष्ट्रपति भण्डारीको जोड थियो– ‘निजी भौतिक संरचनाको अभावमा समेत भाडाको घरमा बसेर कला क्षेत्रको विकासमा प्रतिष्ठान लाग्नु आफैंमा गर्वको कुरा हो।’ त्यसै गरी प्रतिष्ठानका कुलपति सरुभक्तले देशको मौलिक संस्कृतिको संरक्षणा लागि राष्ट्रिय सांस्कृतिक नीति निर्माणको आवश्यकता रहेको जनाए। ‘यो नीति निर्माणका लागि प्रतिष्ठानले आफ्नो तर्फबाट सहयोग गर्नेछ’ –उनले भनिन्। त्यस्तै उपकुलपति शम्भुजित बासकोटाले प्रतिष्ठानका लागि सरकारले १५ रोपनी जग्गा उपलब्ध गराए पनि त्यसमा हालसम्म प्रतिष्ठानले स्वामित्व लिन नसकेको खुलाए।











प्रतिक्रिया