दलाई लामाले पलायन हुँदा सुरक्षा दिने भारतीय गार्डलाई भेटे

0
Shares

अरूणाञ्चल, (एजेन्सी)
तिब्बती धर्मगुरु दलाई लामाले तिब्बतबाट भारत पलायन हुने क्रममा करिब ६० वर्षअगाडि आफूलाई सुरक्षा दिने एकजना भारतीय सैनिकलाई प्रत्यक्ष भेटेका छन्।
८१ वर्षीय तिब्बती आध्यात्मिक नेताले ७९ वर्षीय नरेन चन्द्र दासलाई उत्तरपूर्वी भारतको अरूणाञ्चल प्रदेशको भ्रमणका क्रममा भेटेका हुन्।

‘तिम्रो अनुहार हेर्दा मैले म पनि धेरै बुढो भइसकेको छु भन्ने महसुस गरें।’ –दलाई लामाले भने।

चिनियाँ शासनविरुद्धको तिब्बती असफल विद्रोहपछि सन् १९५९ मा ल्हासाबाट पहाडहरू छिचोल्दै दुई हप्ताको कष्टपूर्ण यात्रापछि उनले पहिलोपटक ती गार्डलाई भेटेका थिए।

सैनिकको भेषमा आफ्ना केही अनुयायीहरूसँग बाटो लागेका दलाई लामाले भारतीय सहयोगको आश्वासन प्राप्त गरेका थिए।

असाम राइफलका अवकाश प्राप्त सदस्य दासले भने– ‘आसाम राइफल प्लाटुन न ९का गार्डहरूले दलाई लामालाई जुथाङ्बोबाट सुरक्षा दिँदै ल्याएको र उनलाई शक्ति भन्ने ठाउँमा हामीमध्येका पाँच जनाको जिम्मा लगाइएको थियो।’
‘तावाङतर्फको यात्राका क्रममा गार्डहरूको अर्को समूहबाट इस्कोर्ट गरिएका दलाई लामालाई हामीले लुङलामा पुर्यायौं।’ –उनले भने।

अहिले निर्वासित तिब्बती सरकार बसेको भारतको उत्तरी राज्य हिमाञ्चलको धर्मशाला पुग्नुअगाडि भाग्ने क्रममा उनी तावाङ गुम्बामा केही समय बसेका थिए। अर्को हप्ता उनले उक्त गुम्बाको यात्रा गरी प्रवचन दिने कार्यक्रम रहेको छ।
दलाई लामाको यो भ्रमणलाई लिएर चीन रुष्ट भएको छ। चीनले अरूणाञ्चल प्रदेशलाई उसको भूभाग भएको बताउँदै आइरहेको छ। उनको भ्रमणपूर्व चीनको विदेश मन्त्रालयका प्रवक्ताले भारतलाई आग्रह गर्दै ‘सीमा विवादको मुद्दालाई थप जटिलतातर्फ धकेल्ने कुनै प्रकारको क्रियाकलाप नगर्न र १४औं दलाई लामालाई पृथकतावादी क्रियाकलाप गर्ने प्लेटफर्म नदिन’ भनेका थिए।

यसैबीच दलाई लामाले शनिबार उत्तरपूर्वी भारतमा फर्कन पाएकोमा ‘पुनरमिलनको जस्तो’ महसुस भइरहेको प्रतिक्रिया दिएका थिए। ‘जब मैले तावाङ क्षेत्र घुमें, मैले पहिलो पटक अनुभव गरेको स्वतन्त्रतालाई सम्झें। त्यो मेरो जीवनको नयाँ अध्यायको शुरूआत थियो।’ –उनको भनाइलाई एसोसिएटेड प्रेसले उद्धृत गरेको छ।