लमजुङमा कमेडी र संगीतको बहार

0
Shares

लमजुङ, (नेस)। चर्चित हास्य कलाकारहरू जितु नेपाल, सुरेन्द्र केसी, विल्सनविक्रम राई, र शिवशंकर रिजाल तथा गायिका माण्डवी त्रिपाठीसहित स्थानीय कलाकारको प्रस्तुतिमा लमजुङबासीले भरपुर मनोरञ्जन लिएका छन्। हास्यव्यंग्य कार्यक्रम नाम दिइएको उक्त प्रस्तुति लमजुङ जेसिज र लमजुङ मस्र्याङ्दी युवा क्लबको संयुक्त आयोजनामा भएको हो।
दर्शकले खचाखच भरिएको जिल्ला समन्वय समितिको सभाहलमा जितु नेपाल उर्फ मुन्द्रेले सामाजिक सञ्जाल फेसबुकमार्फत् सिर्जित समाजिक विकृति विसंगतिका बारेमा सन्देशमूलक प्रस्तुति प्रस्तुत गरेर दर्शक हसाएका थिए। यसै गरी, मुलाको सागका रूपमा परिचित सुरेन्द्र केसी र उनका जोडी जोगिन्दरका नामले परिचित शिवशंकर रिजालले राष्ट्रियताको भावनाले ओतप्रोत प्रस्तुति प्रस्तुत गरी दर्शकको मन जितेका थिए। अर्का हास्यकलाकार तक्मेबुढाका रूपमा परिचित विल्सनविक्रम राईले आफूसहित विभिन्न नेता र कलाकारप्रति गरेको व्यंग्य प्रस्तुतिमा पनि दर्शकहरू निकै रमाएर हासेका थिए। उनले आफ्नो नृत्य कलासमेत सो अवसरमा देखाएका थिए।

कार्यक्रममा लमजुङ जन्मघर भएकी गायिका माण्डवी त्रिपाठीले सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला, बात लाग्यो बात लाग्यो, मेरो बारुले कम्मर लचक्कैसहित आफ्ना गीतहरू गाएकी थिइन्। उक्त कार्यक्रममा बेंसीशहरका लालीगुराँस कला केन्द्र र वर्न टु डान्सका कलाकारको नृत्य प्रस्तुति पनि रहेको थियो।

यसै गरी, जेसिजका पूर्वराष्ट्रिय उपाध्यक्ष राजु अर्यालका साथमा मनोज विकले पनि गीत गाएका थिए। लमजुङ जेसिजका अध्यक्ष लालुमाया गुरुङको सभापतित्वमा भएको कार्यक्रममा धन्यवाद मस्र्याङ्दी क्लबका उपाध्यक्ष जुन तामाङले धन्यवाद ज्ञापन गरेका थिए। जेसिजका महासचिव सरोज विक र लमजुङ मस्र्याङ्दी क्लबका सचिव प्रकाश श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा जेसिजको आस्था पाठ सोही संस्थाका कोषाध्यक्ष अनुज अधिकारीले गरेका थिए।

Skip This