राजधानी गुन्जियो लमजुङे संगीतले



लमजुङको कला र संगीत राजधानीमा गुन्जिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा आइतबार आयोजना गरिएको लमजुङ सांस्कृतिक समारोह २०७३ मा लमजुङे कला र संगीत प्रस्तुत गरिएको हो।

कार्यक्रममा लमजुङको मौलिक भाकाका रूपमा रहेको ठाडोभाकाका शिरोमणिका रूपमा परिचित ८४ वर्षीय दीर्घराज अधिकारी उर्फ भेडीखर्के साइँला, लोकगायक तथा गायिककाहरू कृष्ण गुरुङ, माया गुरुङ, बिमाकुमारी दुरा, गोविन्द गुरुङ र राजु परियारलाई कार्यक्रममा सम्मान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि एवम् विभिन्न गीतका रचयिता राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई अभिनन्दन गरिएको कार्यक्रममा समारोहका अध्यक्ष मोहन श्रेष्ठसहितले कलाकारहरूलाई खदा, दोसल्ला र सम्मानपत्रका साथ सम्मान गरेका थिए। ‘९ वर्षको उमेरदेखि शुरू गरेको यो गीत आज ८४ वर्षको उमेरसम्म पनि गाइरहेको छु।

जागिरे भएको भए पेन्सन पाक्थ्यो। आर्मीमा गएको भए सुवेदार, मेजर हुन्थेँ। तर लोककला र संस्कृतिको संरक्षणमा यसरी खट्दा पनि राज्यले नहेर्दा दुःख लागेको छ’ –ठाडोभाका शिरोमणि भेडीखर्के साइँलाले गीतमार्फत् यसो भन्दा दर्शक तथा स्रोता स्तब्ध भए। कार्यक्रममा सम्मानित स्रष्टाहरूले २०४० को दशकका लोकप्रिय गीत गाएर दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए। बिमाकुमारी दुराले लमजुङ तुर्लुङकोट, लाइन माया अर्कैको नासो, कृष्ण गुरुङले नदीभन्दा लामो थियो माया, राजु परियारले लमजुङ जाने दाइ र दुराडाँडे दाइ बोलको गीत गाएर दर्शलकलाई मोहित बनाएका थिए।
यसै गरी माया गुरुङले आफ्नो सर्वाधिक चर्चामा रहेको गाउँशहरमा लमजुङ दरबार तथा गोविन्द गुरुङले सपनामा देखेकीलाई, सूर्यकुमारी गुरुङले सालको पातैले गाएर मनोरञ्जन दिलाएका थिए। कार्यक्रममा पञ्चैबाजासमेत प्रस्तुत गरिएको थियो। सो अवसरमा लमजुङको पहिचानका रूपमा रहेका केही नृत्य पनि प्रस्तुत गरिएको थियो।
कार्यक्रम मल्टिमिडिया इन्टरनेसनल काठमाडौंको आयोजना, ठाडोभाका लोककला प्रतिष्ठान नेपालको सहआयोजना, लमजुङ कलाकार संघ, लमजुङ र अन्नपूर्ण अफसेट प्रेस काठमाडौंको सहभागितामा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्