अमेरिकामा रात्रिक्लबमा गोली चल्दा एकको मृत्यु



वासिङ्टन, (एजेन्सी)
संयुक्त राज्य अमेरिकाको ओहायो राज्यमा आइतबार बिहान सबेरै एउटा रात्रिक्लबमा गोली चल्दा कम्तिमा एक जनाको मृत्यु हुनुका साथै अन्य १४ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गर्दै जनाएका छन्। क्यामियो रात्रिक्लबमा भएको सो आक्रमणमा कम्तिमा २ जना बन्दुकधारीको संलग्नता हुनुपर्ने प्रहरीले अनुमान गरेको छ।

सिनसिनाटीस्थित उक्त रात्रिकालीनक्लबमा आइतबार बिहान करिब एक बजे गोली चलेको सिनसिनाटी प्रहरी विभागका सर्जेन्ट एरिक फ्रान्जले अमेरिकी एबीसी न्युजलाई जानकारी गराएका छन् । फ्रान्जले घटनालाई ठूलो र डरलाग्दो आक्रमणको संज्ञा दिएका छन्। यस घटना सम्बन्धमा त्यहाँ उपस्थित थुप्रै प्रत्यक्षदर्शीलाई सोधपुछ भइरहेको तर अहिलेसम्म कसैलाई पनि हिरासतमा नलिइएको पनि प्रहरीले जनाएको छ।

तर सिनसिनाटीका प्रहरी उपप्रमुखले यस घटनामा कुनै पनि आतंककारी समूहको संलग्नता रहेको कुनै संकेत नभेटिएको बताएका छन्। घटना कुन उद्देश्यले गराइएको भन्ने विषय अझै छानविनको विषय रहेको छ। प्रहरीले रात्रिक्लबमा उक्त गोलीकाण्ड हुँदा सयौं मानिस घटनास्थलमा रहेको पुष्टि गरेको छ। गतवर्ष फ्लोरिडाको ओर्लान्डोस्थित एउटा समलिंगी रात्रिक्लबमा ओमार म्याटिन नामक व्यक्तिले जथाभावी गोली चलाउँदा ४९ जना व्यक्तिको ज्यान गएको थियो।

प्रतिक्रिया दिनुहोस्