इस्लिङ्टनमा ‘अ डे इन ब्रिटेन’



कमलपोखरीस्थित इस्लिङ्टन कलेजले अ डे इन ब्रिटेन प्रदर्शनी आयोजना गरेको छ। बेलायतमा हुने सांस्कृतिक रहनसहन, पहिरन, खेलकुद, फेसनलगायतका विषयलाई लक्षित गरी राखिएको स्टलहरूमा विद्यार्थीको घुइँचो लागेको थियो। शुक्रबार आयोजित एकदिने प्रदर्शनी सो कलेजमा बीबीए र बीआईटी अध्ययनरत विद्यार्थीले गरेका थिए। अध्ययन सकेपछि व्यावसायिक जीवनमा आइपर्ने विभिन्न चुनौतीहरूलाई समेटेर एक महिना लामो ‘एस्पायर–२०१७’ को आयोजना गरेका हुन्। बिजनेसमा लाग्न वा लाग्ने मनसाय बोकेकालाई सो क्षेत्रमा प्रवेश गर्न सहजताका लागि बिजनेस प्लानिङ, विभिन्न सञ्चारमाध्यको प्रयोजनको लागि प्रिन्ट र टेलिभिजन विज्ञापन कसरी निर्माण गर्नेलगायतका विषयमा विभिन्न सरोकारवालाको सहयोगमा प्रतिस्पर्धात्मक कार्यक्रम आयोजना गरिएको आयोजक निखिलराज श्रेष्ठले जानकारी दिनुभयो।

आईटी तथा व्यवस्थापन विषयमा अध्ययन हुने सो कलेजमा अध्ययनरत विद्यार्थीले आयोजना गरेको एक दिवसिय प्रदर्शनीमा बेलायतको रहनसहन झल्कने खेलकुद, मनोरञ्जन, खानपान, चलचित्र, संगीत, इतिहासलगायत एक दर्जन स्टल राखिएको थियो। कलेजमा अध्ययनरत ७० जना विद्यार्थीले प्रदर्शनीको तयारी गरेका थिए। प्रदर्शनीले विद्यार्थीलाई आफ्नो काम आफैं गर्न प्रेरणा मिलेको श्रेष्ठले जानकारी दिनुभयो। करिब १ हजार ५ सयभन्दा बढी विद्यार्थी, शिक्षक, अभिभावक, व्यावसायिक संघ–संस्थालगायतका प्रतिनिधिले प्रदर्शनी अवलोकन गरेका थिए।

हाल कलेजभित्र मात्र सीमित गरे पनि आगामी वर्ष राष्ट्रियस्तरका कलेजहरूबीच प्रतिस्पर्धाको रूपमा विकास गरिने कलेजकी बीबीए कोअर्डिनेटर डा. दक्षता राणाले बताउनुभयो। उहाँले भन्नुभयो– ‘विद्यार्थीलाई आत्मनिर्भर बनाउन यस्तो कार्यक्रम निरन्तर आयोजना गर्नेछौं।’

प्रतिक्रिया दिनुहोस्