विन्ध्यवासिनी फाउन्डेसनको सहयोगार्थ एकल साँझ



विन्ध्यवासिनी म्युजिक कम्पनीले विन्ध्यावासिनी फाउन्डेसनका सहयोगार्थ आगामी शुक्रबार राजधानीमा रामकृष्ण ढकाल एकल साँझ २०७३ आयोजना गर्ने भएको छ।

एकल साँझ कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने विन्ध्यवासिनी म्युजिक कम्पनीका प्रबन्ध निर्देशक सुवास रेग्मीले त्यसबारे जानकारी दिन आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। एकल साँझमा ब्याकअप व्यान्ड द भ्वाइसका दश वाद्यवादकले साथ दिनेछन्। २० वटा गीत प्रस्तुत गरिने एकल साँझमा गायिका देविका वन्दना, जुना प्रसाईं र प्रविशा अधिकारीले पनि गायनमा साथ दिनेछन्। ‘कार्यक्रमलाई व्यवसायिकभन्दा पनि गुणस्तरीय सांगीतिक निरन्तरताको रूपमा लिएका छौं। कार्यक्रमबाट हुने मुनाफालाई सांगीतिक क्षेत्रमा सक्रिय रही सामाजिक सेवामा समर्पित विन्ध्यवासिनी फाउन्डेसनमार्फत सत्कर्ममा प्रयोग गरिनेछु रेग्मीले जानकारी गराए।

रेग्मीले गीत संगीत र यससँग सम्बन्धित स्रष्टा कलाकारको सेवा र सहयोग गर्ने हेतुले स्थापना भएको संस्था विन्ध्यवासिनी फाउन्डेसनले कलाकर्मीको हक र हितका कुरासंगै समाजसेवा पनि गर्दै आइरहेको समेत प्रष्ट्याए। ‘पहिलो एकल साँझ सत्यस्वरूप एकल साँझमा उठेको रकमबाट भक्तराज आचार्य संगीत प्रतिष्ठानलाई १५ लाख प्रदान गरिएको थियो। दोस्रो एकल कार्यक्रम बिमल डाँगी एकल साँझ गरी त्यसबाट संकलित रकमले डोल्पामा २ र स्याङजामा २ गरी ४ बालबालीकाको कक्षा १० सम्मको अध्ययनको जिम्मेवारी उठाएको छ। हाम्रो संस्था देशमा आएको विषम परिस्थितिमा पनि राहत वितरणमा सक्रिय थियो’ रेग्मीले भने ‘यस संस्थाले संगीतकार संघ नेपालको कलाकर्मी कोशमा पनि ५० हजार रुपियाँ प्रदान गरेको छ। जुन अक्षय कोषका रूपमा रहनेछ। दुवै मृगौलामा समस्या देखिएका संगीतव्यवसायी शिव पौडेललाई मृगौला प्रत्यारोपणका लागि ३ लाख १० हजार सहयोग गरिएको छ। पत्रकार स्व. सूर्यकुमार क्षेत्रीको उपचारमा २५ हजार रुपियाँ प्रदान गरिएको थियो। अब फाउन्डेसनले संगीतकर्मीको ढल्कँदो उमेरको साहाराका लागि संगीताश्रमको परिकल्पना गरेको छ।’

रामकृष्ण ढकाल एकल साँझ २०७३ बाट उठेको रकम पनि बिन्ध्यवासिनी म्युजिकले विन्ध्यवासिनी फाउन्डेसनलाई प्रदान गर्ने फाउन्डेसनका सचिव परमानन्द खनालले बताए। उनका अनुसार एकल साँझमा प्रस्तुत हुने गीतका श्रष्टा सर्जकलाई गीत प्रयोग गरेबापत नियमानुसारको रोयल्टी रकम रोयल्टी संकलन समाजमार्फत प्रदान गरिनेछ।

प्रतिक्रिया दिनुहोस्