ट्रम्पको विवादास्पद स्वास्थ्य स्याहार विधेयक फिर्ता



वासिंगटन, (एजेन्सी)
अमेरिकी कंग्रेसमा शुक्रबार राति मतदान हुनु अगावै आफ्नो स्वास्थ स्याहार विधेयक फिर्ता लिइएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ठूलो प्रहार सावित भएको छ। कंग्रेसको दुवै हाउसमा बाहुल्य रहेको ट्रम्पको रिपब्लिकन पार्टीकै केही सदस्यहरुको सो विधेयक फिर्ता भए पनि ट्रम्पले भने यसका लागि अल्पमत डेमोक्रेटहरुलाई दोष दिएका छन्।

यस अघिका अमेरिकी राष्ट्रपति बाराक ओबामाले लागू गरेको स्वास्थ स्याहार कार्यक्रमलाई विस्थापन गर्नु ट्रम्पको चुनावी अभियानका प्रमुख मुद्दाहरुमध्ये एक थियो। रिपब्लिकन सभामुख पावल र्यानले आफू र ट्रम्प सो विधेयक पारित हुन आवशयक न्यूनतम २ सय १५ रिपब्लिकन मत नआउने निश्चित देखिएपछि त्यसलाई मतदान प्रक्रियामा नलान सहमत भएको जानकारी दिएका छन्।

२८ देखि ३५ रिपब्लिकन विधायक राष्ट्रपति ट्रम्पको अमेरिकन हेल्थ केयर एक्ट (एएचसीए) को मस्यौदाको विरुद्ध रहेको सूचनाहरु प्राप्त भएपछि विधेयक फिर्ता लिइएको बताइएको छ। केही सो विधेयकमा स्वास्थ उपचार खर्चमा ल्याइने तीव्र कटौतिप्रति असन्तुष्ट र हेको र अन्य केहीले विधेयकबाट ल्याइने परिवर्तन धेरै समय नटिक्ने पक्षमा रहेको बुझिएको छ।

हालै जनता माझ गरिएको सर्भेक्षणमा पनि सो विधेयक निकै अलोकप्रिय सावित भएको थियो। करिब १७ प्रतिशत जनताले मात्र यसको समर्थन गरेको पाइएको थियो। कंग्रेसको बजेट कार्यालय ( सीबीओ ) ले एएचसीएले सन् २०१७ देखि २०२६ बीच राष्ट्रिय बजेट घाटामा ३ सय ३६ अर्ब अमेरिकी डलरले कटौति हुने अनुमान गरेको थियो।

तर त्यतिन्जेलसम्ममा जीवन बीमा नभएका अमेरिकीको संख्या पनि ५ करोड २० लाख पुग्नेछ। ओबामा केयरको तुलनामा यो संख्या २ करोड ४० लाखले बढी हुनेछ। उक्त विधेयक कंग्रेसबाट फिर्ता लिइएपछि ट्रम्पले पटक–पटक ओबामा केयर विस्फोट हुने बताएका थिए।

तर उनले के कारणले विस्फोट हुने हो भनी स्पष्ट पारेका छैनन्। तर उक्त विवादास्पद विधेयकका लागि आवश्यक समर्थन जुटाउने जिम्मा सभामुख र्यानको भए पनि ट्रम्पले यस असफलताका लागि उनको आलोचना भने गरेका छैनन्। बरु उनले र्यानले वास्तवमै कडा परिश्रम गरेको भन्दै प्रशंसा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्