९४ वर्षीया वृद्धा अझै म्याकडोनाल्डमा काम गर्दै



वासिंगटन, (एजेन्सी)
अमेरिकी ९४ वर्षीया वृद्धा लरेन मौररले म्याकडानाल्डसमा काम गरेको चौवालिस वर्ष भइसकेको छ। तर अझै उनको चाँडै कामबाट अवकाश लिने कुनै योजना छैन। उनले पिपुल पत्रिकालाई भनेकी छिन्,‘जागिर भनेको काम गर्न मन नलागेपछि छोड्ने हो।’

मलाई मेरो काम अझै निकै मनपर्छ। यहाँ आउने ग्राहकहरुसंगको घुलमिलका कारणले नै म अझै यो कामसंग टाँसिरहेकी छु।’ सन् १९७३ देखि मौररले इन्डियान, इभान्सभिल्लेलगायत थुप्रै स्थानका म्याकडोनाल्डसमा काम गरिसकेकी छिन्। जाडो महिनाहरुमा भने उनलाई सहकर्मी साथीहरु वा उनलाई निकै मनपराउने ग्राहकहरु स्वयम्ले उनलाई घरबाट पिक गरेर म्याकडोनाल्डस र काम सकेपछि पुनः घर पुर्याउने गरेका छन्।

उनले म्याकडोनाल्डसमा आउने केही बालबालिकाको अनुरोधअनुसार आफूले तिनीहरुका लागि प्रार्थना गरिदिने गरेको खुसीका साथ बताउँछिन्। उनको कामको सबैले प्रशंसा गर्ने गरेका छन्। त्यसैले बिहीबार रेस्टुरेन्टमा उनको सेवाको चौवालीसौं वार्षिकी मनाउनका लागि दर्जनौं मानिसको घुइँचो लागेको थियो।

त्यतिका वर्षदेखि अथक काम गर्ने क्रममा उनले सदैव हँसिलो अनुहारले आफ्ना ग्राहकहरुको सेवा गर्दै आइरहेकी छिन्। ग्राहकहरु पनि उनले नै आफ्ना अर्डर लिउन भन्ने चाहन्छन्। चार सन्तानकी आमा मौररले दशकौंदेखि म्याकडोनाल्डसमै खाना खाँदै आएकी छिन्। त्यहाँ एक छाक खानलाई एक डलर पनि पर्दैन।

प्रायसः फिस स्यान्डविच खाने गरेकी उनले बिहीबार बिहान भने ब्लयुवेर्री मफिन, दुईवटा तारेको अण्डा र एक कप कफी लिएको बताएकी थिइन्। उनलाई त्यहाँको स्वस्थ खानाले मात्र दीर्घायु दिएको भने होइन। उनी हाँस्दै भन्छिन्, ‘मेरा ग्राहक ग्राहक मात्र हैनन्। तिनीहरु मेरा रमाइलो र मिल्ने साथीहरु पनि हुन्। म तिनीहरुसँग खेलकुद हेर्न र घुम्न जाने गरेकी छु। मेरो जीवनमा तिनीहरुले खुसीयाली भरिदिएका छन्।’

प्रतिक्रिया दिनुहोस्