संगीत साँझमा झुमे दर्शक



नरेन्द्र केसी, घोराही, दाङ

सुन हे सुन तन्नेरी हो, देशले यही भन्छ
फुटे हामी सकिनेछौं, जुटे देश बन्छ
पूर्वको लाली किरणले लौ सुन यही भन्छ
नेपाली सारा एकजुट भए नेपाल बन्छ बन्छ।
गीत, संगीत र गायनमा पृथक पहिचान बनाएका सन्तोष श्रेष्ठ दाङको मञ्चमा यस्तै भावका साथ मञ्चमा झुल्किए। राष्ट्रिय भावले भरिएका ५ गीत गाएर श्रेष्ठले गीत, संगीत र स्वरमार्फत दर्शक स्रोतालाई राष्ट्रिय भावना मात्र बाँडेनन्, देश बनाउन जुट्नुपर्ने समय आइसकेको सांगीतिक आह्वानसमेत गरे।

राप्ती साहित्य परिषद्ले आयोजना गरेको राष्ट्रिय भावका गीतहरुको एकल गायनमा सन्तोषका राष्ट्रिय भाव पोखिँदा दर्शक स्रोतले ताली बजाएर समर्थन गरेका थिए भने केही त नाचेका पनि थिए। नेपाली हामी रहौंला कहाँ, नेपालै नरहे बोलको गीतबाट एकल साँझ शुरु गरेका श्रेष्ठले ५ मध्ये केही गीत आफ्नो प्रकाशोन्मुख एल्बम आफ्नै सुरक्षाबाट गाएका थिए।

उनका गीतहरु राष्ट्रियता र समृद्धिमा केन्द्रित थिए
माटो छोए सुन फल्नेछ, पानी छोए बत्ती
चलाउनुपर्छ है अब जाँगर अलिकति
सिर्जनाको मुहान पनि पाखुरीमै हुन्छ
नेपाली सारा एकजुट भए नेपाल बन्छ बन्छ।
राष्ट्रियता बलियो बनाउन सबै जाग्नुपर्ने र त्यसका लागि देशभित्रका सबै नेपालीमा राष्ट्रिय भावना जागृत गर्नुपर्ने गीतको जोड थियो। त्यसो त सबै नेपालीलाई नेपालीपनको अनुभूति गराउन देशभित्रका अन्याय अत्याचार अन्त्य गर्नुपर्ने र समानताको दियो बाल्नुपर्ने श्रेष्ठको आह्वान थियो
पूर्व जागौं पश्चिम जागौं उत्तर दक्षिण जागौं
जहाँ जहाँ अध्याँरो छ चिर्दै अघि बढौं
अन्यायका किल्लाहरु थालौं भत्काउन
विभेदका ढिस्काहरु लागौं सम्याउन
छाड्नुपर्छ अब हामी आफ्नो स्वार्थी मियो
बाल्नुपर्छ चारैतिर समानताको दियो।
कसैले संसार छाड भन्छ भने छाड्न तयार हुनुपर्ने तर देश छाड्न नसकिने अडान राख्दै गायक श्रेष्ठले गाए
सकिएला संसार छाड्न, देश छोड्न सकिन्न
मुटु फुटे जोडिएला, चुडिएको देशलाई तर कहिल्यै जोड्न सकिन्न
निधार बेची शीरमा लाउने अवीर किन्न सकिन्न
मुटु फुटे जोडिएला, चुडिएको देशलाई तर कहिल्यै जोड्न सकिन्न।

कार्यक्रममा सहभागी साहित्यकार डा. नवराज लम्सालले भर्खरै भारतीय आक्रमणबाट गोविन्द गौतमको निधन भएको बेला आयोजना गरिएको यो सांगीतिक साँझलाई गोविन्द गौतम सम्मान साँझ पनि भन्न सकिने चर्चा गरे। गीत, संगीत र गायनका त्रिवेणी सन्तोष नेपालकै गहना भएको चर्चा गर्दै उनले श्रेष्ठलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। संगीतकार बुलु मुकारुङले पनि श्रेष्ठ नेपालकै सम्पत्ति भएको चर्चा गरे।

राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनालको अध्यक्षता एवं रेडियो नेपालका नायव कार्यकारी निर्देशक श्रीभद्र वाग्लेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा परिषद्का वरिष्ठ उपाध्यक्ष टीकाराम उदासीले स्वागत गरेका थिए। कार्यक्रम गीतकार प्रकाश केसीले सञ्चालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्