नक्कली हिसिला यमी बन्दा….



रश्मी थापा
मेकअप आर्टिस्ट तथा हेयर ड्रेसर विपना बस्नेत हिजोआज कलाकारका रुपमा पनि छाएकी छिन्। मेकअप र हेयर ड्रेसर कलामा पोख्त उनी राम्रो अभिनेत्री पनि हुन्, त्योभन्दा बढीचाहिँ नक्कली हिसिला यमी (राजनीतिक नेतृ)को नामबाट चर्चित छिन्। कलाकारका रुपमा पर्दामा आउनुअघि उनी एक हेयर ड्रेसर तथा मेकअप आर्टिस्ट थिइन्। रिफ्युजी डेब्यु नायिका रिश्ता बस्नेत र रंगकलाकार रिनेक्स बस्नेतकी आमा विपनाले २०५३ सालबाट फिल्ममा हेयर आर्टिस्टको रुपमा काम गर्न थालेकी हुन्। उनले हालसम्म १ सय २० भन्दा धेरै फिल्मका दर्जनौं कलाकारलाई मेकअप गरिन् भने विभिन्न म्युजिक भिडियो र विज्ञापनहरुमा पनि उनले मेक अप आर्टिस्टका रूपमा काम गरेकी छन्।

बीसौं वर्ष भयो नेपाली फिल्म क्षेत्रमा काम गरेको, यसमै खुसी छु। म पर्दापछाडि बसेर अरू कलाकारको मेकअप गरिदिन्छु भने मैले काम गरेका धेरै फिल्महरुमा अभिनय गर्ने मौका पनि पाएको छु। २०५३ सालमा पराइ घर भन्ने फिल्मबाट मैले हेयर ड्रेसरका रुपमा काम थालेको हो। त्यही फिल्ममा मैले सानो रोल पाएको थिएँ। खुसी लागेको थियो। धेरै वर्षपछि पनि मैले मेकअप आर्टिस्टको रुपमा नेपाली फिल्ममा छिर्दा सानो भूमिका निर्वाह गर्न पाएँ। मलाई फिल्ममा सानो सानो रोल गर्दा पनि खुसी यस कारणले लाग्छ कि मलाई पहिलेदेखि नै कलाकारितामा रुचि थियो।

कलेजका दिनहरुमा फिल्म लाइनमा कलाकार बनेर छिर्ने रहर थियो। यसै क्रममा निर्देशक स्व. प्रदीप रिमालको छोरा राजु रिमालकोे निर्देशनमा बनेको भिडियो फिल्म पश्चात्तापमा हिरोइनको रुपमा काम गर्ने मौका पाएँ। २÷३ दिन काम गरेपछि मलाई घरबाट अब्जेक्सन आयो र सो मौका गुमाउनुपर्यो। तर पहिलेदेखिको कलाकार बन्ने रहर भने मरेको थिएन। पछि फिल्ममा मेकअप आर्टिस्टको रुपमा फर्केर आउँदा निकै रमाइलो महसुस भयो। सोही क्रममा विपनाले जंजीर, दुलही रानी, मन पराएँ माया लाएँ, आधा पेज, रिफ्युजीजस्ता धेरै फिल्महरुमा अभिनय गरिन्।

विवाह गरेको केही वर्षमै सम्बन्ध विच्छेद भएपछि छोरा रिनेक्स र छोरी रिश्ताको सम्पूर्ण जिम्मेवारी उनीमाथि आएछ।कलेज पढ्दा पढ्दै विवाह भयो। छोरा साढे दुई वर्ष, छोरी छ महिनाकी हँुदा श्रीमान्सँग डीभोर्स भएपछि छोराछोरी च्यापेर माइती गएँ। यसै बस्नुभन्दा केही गर्छु भन्ने सोचले पार्लर सिक्ने निर्णय गरें। मैले आफ्ना छोराछोरीका लागि पनि केही गर्नुपर्ने थियो। प्रजनी राणाबाट होटल अन्नपूर्णमा सञ्चालित ब्युटिसियन कोर्स गरें। त्यसपछि भगवती बहालमा आरजु ब्युटिपार्लर किनेर चलाउन थालें। कलेज पढ्दा हामी पुतलीसडकस्थित लिलाज ब्युटिपार्लरमा राम्री बन्न थ्रेडिङ ब्लिचिङ गर्न जाने गथ्र्यौं। उनै दिदीले फिल्ममा मेकअप आर्टिस्टको रुपमा काम गर्ने हो भनेर सोध्नुभयो’, विपनाले खुसी हुँदै सुनाइन्–मैले खुसी हँुदै हुन्छ भनें। तर त्यो बेलासम्म मलाई फिल्ममा पनि हेयेर ड्रेसर मेकअप आर्टिस्ट भनेर छुट्टै मान्छे राख्दा रहेछन् भन्ने थाहा थिएन।’

नायिकाहरु करिश्मा मानन्धर, सञ्चिता लुइँटेल र झरना थापा तथा नायक रोजेश हमालको मेकअप गर्दा निकै सहज महसुुस गर्ने विपनाले आफ्नो करिअरमा पनि उनीहरुले निकै सहयोग गरेको अनुभव पोख्छिन्।राजेश हमाल दाइले मेरो मेकअप साह्रै मन पराउनुहुन्थ्यो। अरू मेकअप आर्टिस्टसँग मेकअप गराउँदा पनि उनीहरुलाई कति नम्बरको पेनस्टिक प्रयोग गरेको सोधेर विपना दिदीले त यो नम्बरको प्रयोग गर्नुहुन्थ्यो त्यही प्रयोग गर्नुस् भन्नुहुन्थ्यो। करिश्मा, संचिता र झरना बहिनीहरुलाई मेकअप गरिदिन निकै सजिलो लाग्थ्यो।’ –उनले सुनाइन्।

केही वर्षअघि हास्य टेलिसिरियल तीतो सत्यमा राजनीतिक नेतृ हिसिला यमी बनेर नक्कली बाबुराम भट्टराई ज्योति काफ्लेको जोडीको रुपमा खेलेपछि उनी एकाएक चर्चामा आइन्। झट्ट हेर्दा हिसिला यमीजस्तै उस्तै लवज र हाउभाउको कारण उनी यति चर्चित र व्यस्त भइन् कि कुनै दिन त उनले काठमाडौंमा एकै दिन ३ वटा कार्यक्रमसमेत भ्याउनुपर्ने भयो।झोला नामक फिल्मको सुटिङका लागि सुटिङ युनिटसँगै म धुवाटारमा थिएँ। मोबाइलमा सेभ नभएको नम्बरबाट फोन आयो। दीपाश्री निरौला बहिनीको रहेछ।

अचानक उहाँको फोन आउँदा म निकै खुसी भएँ। दीपा बहिनीले तपाईं ज्योति काफ्लेसँग हिसिला यमीको भूमिकामा खेल्नुहुन्छ भन्नुभयो’, उनले उत्साहित हुँदै सुनाइन्–मैले कहिल्यै सोच्दै नसोचेको कुरा सुनेर असाध्यै खुसी लाग्यो र हुन्छ भनें। त्यति बेला लक्ष्मी गिरी दिदीले तीतो सत्यमा आमाको भूमिकामा खेल्नुहुन्थ्यो र उहाँ पनि हामीसँगै भएका उहाँको फोन नलागेर मलाई गर्नुभएको होला भन्ठानेको थिएँ। तर मलाई अफर गर्नै फोन गर्नुभएको रहेछ। मेरो भाग्यले पनि साथ दिएको होला, त्यो दिन नै फिल्म सुटिङको अन्तिम दिन थियो।’ विपनाले थपिन्–मैले हिसिला यमीलाई कहिल्यै देखेकी थिइनँ। टिभीमा देख्दा एकपटक याद गरेको थिएँ। उहाँले कोटमा रातो गलबन्दी लाएको याद थियो। मेरो ध्यान नै कसरी हिसिला यमीको जस्तो गेट अप बनाउने भन्नेतिर थियो। त्यो दिन बेलुका पनि मलाई विश्वासै लागेन र जिस्क्याएको पो हो कि भन्ने लागेर फेरि कन्फर्म गर्नको लागि दीपा बहिनीलाई फोन गरें। सुटिङ हुने दिन म निकै उत्साहित थिएँ। जब सिरियलको पहिलो भाग गयो, मेरो अभिनयको तारिफ हुन लाग्यो। त्यसपछि मलाई विभिन्न स्टेज कार्यक्रममा अफर आउन थाल्यो। त्यसरी मैले नेपालको ४०÷४५ जिल्लामा पर्फमेन्स दिएको छु।’

तीतो सत्यमा आफ्नो क्यारिकेचर देखेपछि हिसिलाले नै भेट्ने निम्तो दिएपछि नक्कली र सक्कली नेतृको भेट भएछ।तीतो सत्यमा उहाँको क्यारिकेचर तीन भाग जति प्रसारण भएपछि एक दिन मसँगै बाबुराम भट्टराईको क्यारिकेचर गर्ने ज्योेति काफ्ले भाइले तपाईंलाई प्रधानमन्त्री क्वार्टरबाट फोन आउन सक्छ कुरा गर्नु है भने। यो सुनेर मलाई कताकता डर लाग्यो। माओवादी भएकाले कतै केही पो गर्ने हो कि भने जस्तो लाग्यो। झन् त्यो बेलामा डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुनुहुन्थ्यो। त्यही दिन अचम्मको नम्बरबाट फोन आयो, लेडिज आवाज थियो। उहाँ हिसिला दिदी भन्ने थाहा पाएपछि के भन्ने भन्ने भयो।

म आफैले दिज्यू दर्शन भनेर कुरा शुरू गरें’, विपना उत्साहित थिइन्–उहाँले तपाईं विपना बस्नेत बोल्नुभएको हो भनेर सोध्नुभयो र तपाईंको नाम विपना मेरोचाहिँ सपना राख्छु है भन्नुभयो। त्यो सुनेर मैले मेरो भर्खरै दोस्रो न्वारन भएको छ विपना बस्नेतबाट हिसिला यमी भएको छु, कहाँ हजुरले नाम चेन्ज गर्नुभयो भने त मेरो नयाँ नामको के अर्थ हुन्छ र भनें। त्यस्तै डर लाग्दा लाग्दै आधा घण्टा जति कुरा भयो। कुरा गर्दै जाँदा दिज्यू यति सरल र सहज पाएँ कि जे सोचेको थिएँ, त्योभन्दा ठीक उल्टो पाएँ। तपाईंले मेरो क्यारिकेचर गर्नुभएको रहेछ खुसी लाग्यो, हामी अब भेट्नुपर्छ है भनिसकेपछि मैले तपाईंलाई आज फोन गर्नुको मुख्य कारणचाहिँ आज सगरमाथा टिभीमा मेरो इन्टरभ्यु आउँदै छ, त्यो हेर्नुहोला। तपाईंलाई मेरो क्यारिकेचर गर्न सजिलो हुन्छ भन्नुभयो।’ विपनाले नालीबेली लाइन्–त्यसको ४÷५ दिनपछि उहाँले डिल्लीबजारको एउटा कफीसपमा भेट्न बोलाउनुभएको थियो। थोरै समयमै उहाँको क्यारिकेचरले मलाई नयाँ परिचय दियो। धेरै मान्छेहरुले मेरो अभिनय मन पराइदिनुभयो। बाटोमा भेट हुँदा नचिनेका मान्छेहरु पनि चिनेको व्यवहार गर्छन्, फोटो खिचाउँछन्। एकदम खुसी लाग्छ।’

विपनाले जीवनमा जति खुसी र सजिला पाटाहरु भोगेकी छिन्, त्यति नै अप्ठ्यारा अनुभव पनि गरेकी छिन्। एकातिर काम अर्कोतिर साना छोराछोरी। कामको सिलसिलामा विभिन्न ठाउँमा जानुपर्दा कहिले महिनौं दिन पनि छोराछोरीलाई सहयोगीको भरमा छोड्नुपरेको तीतो अनुभव छ उनीसँग।जतिखेर मैले आफ्नो बच्चाहरुलाई काखमा च्यापेर खेलाउन पर्ने थियो, एउटा आमाको भूमिका निभाउन पर्ने थियो त्यो मैले गर्न पाइनँ। न मेरो बच्चाहरुले मेरो माया पाए, न आमाका काखमा बस्ने मौका धेरै पाए। उनीहरुलाई हुर्काउन धेरै कठिन भयो। एकपटक २०५७ सालमा ३ दिनसम्म नेपाल बन्द थियो। त्यो बेलामा मेरो खुट्टा भाँचिएको थियो। आफ्नो त्यस्तो हालत थियो भने पसलहरु सबै बन्द थिए।

त्यही बेला चामल सकिएको रहेछ। त्यो समयमा २ दिनसम्म बच्चाहरुलाई खाना खुवाउन सकिनँ। त्यो बेला पनि मलाई निकै पीडा महसुस हुने गथ्र्यो। त्यस्तो दुःखहरु त कति आए आए। तर पनि मेरा बच्चाहरु निकै बुझ्ने थिए। उनीहरुले कहिल्यैै पनि बुबा खै भनेर खोजेनन् र आमासँगकै दुःखलाई पनि खुसी मानेर बसे’, जीवनको दुःख शेयर गर्दै उनले सुनँइन्–उमेरमै सम्बन्ध विच्छेद भए पनि मैले आफ्नो दोस्रो बिहेको बारेमा कहिल्यै पनि सोचिनँ। त्यति बेला छोराछोरी साना थिए। त्यो बेला नै मैले विवाह गरेको भए त मेरो बच्चाहरुलाई दिनुपर्ने माया बाँडिन सक्थ्यो। विगत १२÷१३ वर्षदेखि भने म कलाकार दीपक क्षेत्रीजीसँग लिभिङ टुगेदरमा छु।’

कला क्षेत्रमा रम्दै आएकी विपनाले छोराछोरीलाई पनि यतै डोहोर्याएकी छिन्। अभिनेत्री छोरी रिश्ता बस्नेतलाई फिल्म होस्टेलबाट नेपाली रजतपटमा डेब्यु गराउनमा पनि आफ्नो हात रहेको उनले खुलाइन्।मेरो चाहना हिरोइन बन्ने थियो। मैले अवसर नपाए पनि छोरीलाई चाहिँ हिरोइन बनाउँछु भन्ने थियो ऊ कलाकारितामा आउनुमा मेरो ५० पर्सेन्ट र उसकोे ५० पर्सेन्ट हात छ। छोरा रिनेक्स बस्नेतको भने सानैदेखि कलाकार बन्ने सपना थियो। अहिले रङ्गमञ्चमा क्रिलयाशील छ’, उनले सुनाइन्–मेकअप आर्टिस्टको रुपमा वर्षौंदेखि काम गर्दै आए पनि कलाकारितामै खुसी छु।

मानिसलाई आत्मसन्तुष्टि के कुराले दिन्छ, त्यही कुरा राम्रो लाग्दो रहेछ। मैले वर्षौंदेखि मेकअप आर्टिस्ट भएर काम गरे पनि म एउटा कलाकार भएर चिनिनुमै खुसी छु। म मेकअप आर्टिस्ट र हेयर डिजाइनर हँु, तर त्योभन्दा बढी म एउटा कलाकार हुँ। एउटा कलाकार भएर चिनिन पाउँदा निकै गर्व लाग्छ।’

प्रतिक्रिया दिनुहोस्