पूर्वी चीन सागरमा उडेका अमेरिकी विमानलाई चेतावनी



बेइजिङ, (एजेन्सी)
बेइजिङले इस्ट चाइना सीमाथि उडानमा रहेको अमेरिकी वायु सेनाका बमबर्षक विमानलाई चेतावनी दिएको अमेरिकी अधिकारीहरूले संचारमाध्यमहरूलाई बताएका छन्।

चिनियाँ बलले चेतावनी दिइरहँदा ती बमबर्षकहरू अन्तर्राष्ट्रिय हवाइ क्षेत्रमा आफ्नो नियमित उडानमा रहेको जनाइएको छ। फक्स न्युजसँगको साक्षात्कारमा नाम उल्लेख नगरिएका दुईजना अधिकारीले उक्त घटनाको पुष्टि गरेको छ। त्यसैगरी सीएनएनले पनि एकजना वरिष्ठ रक्षा अधिकारीबाट उक्त घटनालाई पुष्टि गर्ने भनाइलाई उद्धृत गरेको छ।

दक्षिण कोरिया नजिकै उक्त सैन्य विमान उडानमा रहेको बेला चिनियाँ सेनाले अमेरिकी पाइलटहरूलाई अवैध हवाइ क्षेत्रको प्रयोग गरिरहेको सूचना दिइएको थियो। उक्त चेतावनीका बाबजुद पनि ती पाइलटहरूले विमानलाई उसको वास्तविक हवाइमार्गबाट अन्यत्र मोड्ने काम नगरेको समाचारमा जनाइएको छ।
उक्त विमान अमेरिकी हवाइ बलको बी–१बी लान्सर बमबर्षक हो वा होइन भन्ने विषयमा प्रष्ट हुन सकेको छैन। जसले दक्षिण कोरियासँग हुने भनिएको सैनिक अभ्यासका लागि सामग्री बोकेको थियो।

चीनले पूर्वी चीन सागरमा अन्य कयौं मुलुकको दाबी रहेका जलक्षेत्रलाई एकपक्षीय रूपमा आफ्नो हवाइ सुरक्षा इलाका ‘एयर डिफेन्स आइडेन्टिफिकेसन जोन (एडीआइजे)’को घोषणा गरेको थियो। उक्त जलक्षेत्रमाथि जापान र दक्षिण कोरियाले पनि आफ्नो सम्प्रभुताभित्र पर्ने इलाकाका रूपमा दाबी गर्दै आइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्