लन्डन आक्रमणमा पाँचको मृत्यु चालिस घाइते आइएसले घटनाको जिम्मेवारी लियो



लन्डन,(एजेन्सी)
एकजना अपरिचित आतंककारीले राजधानी लन्डनमा स्थानिय समय अनुसार बुधबार अपरान्ह संसद भवन बाहिर जथाभाबी छुरा प्रहार गर्दा एक जना सुरक्षाकर्मी सहित पाँच जनाको मृत्यु हुनुको साथै अन्य करिब चालीस जना घाइते भएका बेलायती प्रहरीले विहिवार पुष्टि गरेको छ।
केन्द्रिय लन्डनस्थित बेलायती संसद् भवन परिसर बाहिरको आक्रमणमा उक्त संख्यामा हताहती भएको लन्डनका महानगरीय प्रहरी सहायक आयुक्त मार्क रोलेले पुष्टि गरेका छन्। कर्तव्य पालनका क्रममा ४८ वर्षीय प्रहरी अधिकृत किथ पामरको मृत्यु भएको रोलेले पत्रकारहरूलाई बताएका छन्।

किथ पामरले बेलायती प्रहरीमा १५ वर्षदेखि सेवारत थिए। सहायक आयुक्त रोले बेलायती प्रहरीको आतंकवादविरुद्धको सुरक्षा कारबाही निकायका प्रमुख पनि हुन्।
तर अझैसम्म आक्रमणकारीको वास्तविक परिचय प्रहरीले सार्वजनिक रूपमा खुलासा गरिसकेको छैन। तर बेलायती प्रहरीलाई आक्रमणकारीको पहिचान भइसकेको जनाइएको छ।

बेलायती प्रधानमन्त्री टेरिजा मेले वेस्टमिनिस्टरका आक्रमणकारी बेलायतमा जन्मेका तथा प्रहरी र गुप्तचर निकायले चिनेको व्यक्ति भएको तथ्य सार्वजनिक गरेकी छिन्।

उनले विधायकहरूलाई केही वर्षअघि हिंसात्मक अतिवादी क्रियाकलापको सिलसिलामा ती व्यक्तिमाथि अनुसन्धान गरिएको तर सो अनुसन्धान वर्तमान घटनासंग सम्बन्धित नरहेको बताएकी छिन्। यसैबीच तथाकथित इस्लामिक स्टेट (आईएस )लडाकू समूहले सो आक्रमणको जिम्मेवारी लिइसकेको छ।

आईएसले ती आक्रमणकारी आफ्नो सिपाही भएको दाबी गरेका छन्।
प्रहरी अधिकृत पामरको छुरा प्रहारबाट हत्या हुनासाथै अन्य प्रहरीले सो आक्रमणकारीलाई गोली हानी घटनास्थलमै ढालिदिएका थिए।प्रत्यक्षदर्शीका अनुसार १ जना व्यक्ति एउटा अति तीव्र गतिको कारमा एक्लै आएर संसद् भवन परिसर बाहिरको वेस्टमिन्स्टर ब्रिजको फुटपाथमा जबर्जस्ती गाडीलाई चढाएर संसद् भवनभित्र घुस्न खोजेको र सो कारले ठक्कर दिँदा ३ जना प्रहरीलाई ठहरै पार्नुका साथै सडकमा हिँडिरहेका कम्तीमा अन्य बीस जना बटुवालाई घाइते बनाएको थियो।

फुटपाथमा उक्लिएपछि सो तीव्र गतिको कारको सन्तुलन बिग्रिंदा संसद् भवन अर्थात हाउस अफ कमन्स परिसर बाहिरको बार र पर्खालमा ठोक्किन पुगेको थियो। तर दुर्घटनाग्रस्त उक्त कारभित्र बस्ने चालकलाई केही पनि भएको थिएन। त्यसपछि उक्त गाडीबाट बाहिर निस्केर चालकले लामो र धारिलो छुरा निकाली वरिपरि रहेका मानिसहरूमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए। आक्रमणकारीको पहिलो निसानामा प्रहरी अधिकृत किथ पामर परेका थिए। छुराको प्रहारबाट ढलेका उनको तत्का घटनास्थलमै मृत्यु भएको थियो।

यसैबीच यस आतंककारी आक्रमणमा संलग्नता रहेको आशंकामा लन्डन प्रहरीले हिजो आठ व्यक्तिलाई पक्राउ गरेका छन्। लन्डन र बर्मिङमका छ वटा स्थानबाट तिनीहरू पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। सिन्ह्वा समाचार समितिका अनुसार यस आक्रमणमा परी ५ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४० जना भन्दाबढी घाइते भएका छन्।

यद्यपि एएफपी समाचार समितिले दिएको जानकारीअनुसार यस आक्रमणमा २ जना सर्वसाधारण, एक प्रहरी अधिकारी र एक आक्रमणकारी स्वयम् गरी चार व्यक्तिको मृत्यु भएको छ। २ सर्वसाधारणमा वेस्टमिनिस्टर ब्रिज नजिकैको लन्डन कलेजमा कार्यरत ४० वर्षीया आयसा फ्रेड नामक महिला, ५० वर्षीय एक पुरुष र ४८ वर्षीय प्रहरी अधिकृत किथ पामरको मृत्यु भएको बताइएको छ। अस्पतालमा रहेका ७ जना घाइतेको स्वास्थ स्थिति अझै चिन्ताजनक रहेको तथा अन्य उनान्तीस जनाको पनि उपचार चलिरहेको प्रहरीले जनाएको छ। मेले पार्मरको मृत्युप्रति गहिरो दुख व्यक्त गर्दै उनको साहसिक कार्य कहिल्यै बिर्सन नसकिने बताएकी छिन्।

मेले १२ जना बेलायती नागरिकलाई अस्पतालमा भर्ना गरिएको र अन्य घाइते हुनेहरूमा ३ जना फ्रेन्च बालबालिक, २ जना रोमानियाली, ४ जना दक्षिण कोरियाली, १ जना जर्मन, १ जना पोलिस, १ जना आइरिस, १ जना चिनियाँ, १ जना इटालियन, १ जना अमेरिकी र २ जना ग्रिक रहेको जानकारी दिएकी छिन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत विश्वका थुप्रै राष्ट्र प्रमुखहरूले प्रधानमन्त्री मेसमक्ष यस आतंककारी आक्रमणमा मारिनेहरूप्रति समवेदना प्रकट गर्दै आक्रमणको कडा शब्दमा भत्सर्ना गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्