नेपाली र हिन्दीमा बन्दै छ करोडपति राजपाल र जोनि पनि कलाकार



फिल्म सुटिङका क्रममा आर्यन नेपाली पोशाकमा सजिएका राजपालका साथ। तस्वीरः फेसबुक

नेपाली फिल्मलाई नेपालबाहेक अन्य देशमा समेत विस्तार गर्नका लागि नेपालीसँगै हिन्दी भाषामा पनि फिल्म बनाउने प्रचलन शुरु भएको छ। निर्माता, निर्देशक तथा अभिनेता रोज राणाले अमिताभ बच्चनद्वारा अभिनित बलिउड फिल्म भूतनाथका निर्देशक विवेश शर्मालाई लिएर नेपाली र हिन्दीसहित विभिन्न भाषामा फिल्म निर्माण गरिरहेकै बेला बलिउड कमेडियन राजपाल यादवलाई लिएर अर्को फिल्म करोडपतिको निर्माण शुरु गरेएका छन्।

मंगलबार शुभसाइत गरी बुधबारबाट निर्माणकार्य शुरु गरिएको फिल्मको सुटिङको मुख्य काम भने केही दिनबाट मात्र शुरु हुने स्रोतले जानकारी गरायो। भारत र नेपालका निर्देशकले संयुक्तरूपमा निर्देशन गर्ने करोडपति नेपाली र हिन्दी दुवै भाषामा बन्नेछ। निर्माण सूत्रले भने हाल दुवै भारतीय निर्देशकले काम गरिरहेको दाबी गरे पनि नाम खुलाउन भने चाहेन। यसलाई नेपालबाट सविरकुमार श्रेष्ठले निर्देशन गरिरहेको बताइए पनि खुलाइएको छैन। फिल्ममा बलिउडबाट राजपालका साथमा जोनि लिबरको नाम पनि आएको छ। राजपाल यो फिल्ममा काम गर्न हाल काठमाडौंमै छन् भने फिल्मका कलाकारहरु यतिखेर धुलिखेलमा सुटिङ गरिरहेका छन्। फिल्ममा राजपालका साथमा आर्यन अधिकारी र नीता ढुंगाना प्रमुख भूमिकामा छन्। आर्यनले आकाश अधिकारीद्वारा निर्देशित फिल्म के म तिम्रो होइन रबाट डेब्यु गरेका हुन्। यसबाहेक भारतबाट थुप्रै कलाकारको संलग्नता रहने भए पनि आधा दर्जनजति चिनिएका अनुहार रहने निर्माण स्रोतबाट थाहा भएको छ।

फिल्म नायक आर्यन अधिकारीको अधिकारी ब्रदर्स पिक्चर्स र केतन फिल्म्स्को संयुक्त ब्यानरमा बन्न लागेको हो। यसलाई सुरेश अधिकारीले निर्माण गर्दै छन््। निर्माण पक्षले फिल्ममा राजपाल र जोनि लिबरको साथमा अन्य बलिउड कलाकारको संलग्नताको विषयलाई गोप्य राख्न खोजको छ भने अन्य कलाकारको बारेमा समेत खुलाएको छैन। बलिउड कलाकारले यस फिल्ममा २ साता नेपाल बसेर अभिनय गर्नेछन् भने केही प्रतिशत फिल्म छायांकनका लागि सुटिङ युनिट भारतसमेत जानेछ। दक्षिण भारतीय छायाँकारले छायांकन गरिरहेको फिल्ममा द्वन्द्व निर्देशन सम्राट बस्नेतले गरिरहेका छन्। ५ गीत रहने फिल्मको एउटा नेपाली गीतमा कमल क्षत्रीले संगीत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्