जापानलाई व्यापारमा मुनाफा



टोक्यो, (एजेन्सी)
जापानको गत फेब्रुअरी महिनामा भएको व्यापार तथा वित्तिय कारोबार सन् २०१० पछि अहिलेसम्मकै सबैभन्दा ठूलो मुनाफादायक भएको जनाइएको छ।
यस अवधिमा जापानका अत्याधुनिक ठूला मेसिनरी तथा विद्युतीय उपकरण चीन निर्यातमा २८ प्रतिशत वृद्धि भएको थियो। उक्त कारोबारबाटै जापानले उक्त उच्चतम मुनाफा आर्जन गर्न सफल भएको जनाइएको छ।

ती अत्याधुनिक ठूला मेसिनरी तथा विद्युतीय उपकरणको प्रयोग चीनले निर्यातयोग्य गुणस्तरीय सरसामान उत्पादन गर्नमा प्रयोग गर्ने जनाइएको छ। हालै प्रकाशित जापानको भन्सार तथा महसुलसम्बन्धी प्रतिवेदनमा कुल राष्ट्रिय निर्यातमा ११ प्रतिशतले वृद्धि भएको र कुल राष्ट्रिय आयातमा भने १ प्रतिशतले कमी आएको उल्लेख छ। राष्ट्रिय निर्यात बचततर्फ गत वर्षको तुलनामा दुईगुणा वृद्धि भई यो वर्ष ७ अर्ब ३० करोड अमेरिकी डलर पुगेको छ।

चीनसँगको व्यापार घाटा लगातार बढिरहेको कारण अर्थतन्त्रमा गिरावटको सामना गरिरहेको जापानका लागि यो वर्षको व्यापारिक मुनाफाले राम्रो संकेत दिएको छ। एसियाको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुकको आर्थिक स्थितिलाई स्थिर राख्नु र त्यसलाई उकास्नु वर्तमान प्रधानमन्त्री सिन्जो आबेका लागि ठूलो चुनौतीका रुपमा लिइएको छ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा गिरावट आउनु र मुद्राको अन्तर्राष्ट्रिय मूल्य स्थिर रही अमेरिकी डलरको तुलनामा जापानी येन बलियो हुनु यसको प्रमुख कारण भएको अर्थविद्हरूले बताए। यसले मूलरूपमा राष्ट्रको अर्थतन्त्र गतिशील बनाउन आवश्यक पर्ने आयातित ग्यास र इन्धनको लागत कम गराएकाले उक्त उपलब्धि हासिल हुनसकेको जापानी अर्थविद्हरूले बताए।
अमेरिकासँगको व्यापारतर्फ निर्यातमा शून्य दशमलव चार प्रतिशतले वृद्धि भई ११ अर्ब अमेरिकी डलर पुगेको जनाइएको छ। उसँगको व्यापारमा आयाततर्फ गिरावट आएकाले ५ अर्ब ५० करोड अमेरिकी डलर व्यापार बचत हासिल भएको उक्त प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्