उत्तर कोरियाली क्षेप्यास्त्र प्रक्षेपण असफल भएको दाबी



सोल, (एजेन्सी)
उत्तर कोरियाले बुधबार गरेको एक अत्याधुनिक क्षेप्यास्त्र परीक्षण कार्य असफल भएको दक्षिण कोरियाको रक्षा मन्त्रालयका अधिकारीहरूले बताएका छन्। तीन⁄चार दिनअघि मात्र उत्तर कोरियाले अत्यन्त आधुनिक प्रविधिको रकेट इन्जिनको सफल परीक्षण गरी रकेट युगको विकास र प्रवद्र्धन परियोजनामा बृहत् उपलब्धि हासिल गरेको दाबी गरेको थियो।

हाल दक्षिण कोरियामा अमेरिकी र दक्षिण कोरियाली सेनाले संयुक्तरुपमा वार्षिक सैनिक अभ्यास सञ्चालन गरिरहेका समयमा उत्तर कोरियाले आधुनिक क्षेप्यास्त्र परीक्षण गरेको हो। दक्षिण कोरियामा भइरहेको वार्षिक सैनिक अभ्यासलाई आफ्नो देशमाथि सामरिक आक्रमण गर्ने तयारीका रूपमा उत्तर कोरियाले लिँदै आएको छ।

यस मार्च महिनाको शुरुआत सँगसँगै उत्तर कोरियाले चारवटा शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्रहरू जापानको सीमानजिकैको समुद्रमा प्रहार गरी सफल परीक्षण गरेको थियो। यस परीक्षणको जापान, अमेरिका र दक्षिण कोरियाले सशक्त विरोध जनाएका थिए।

दक्षिण कोरियाली प्रतिरक्षा मन्त्रालयले एक विज्ञप्ति प्रकाशन गरी बुधबार बिहानै उत्तर कोरियाको पूर्वी सामुद्रिक तटवर्ती नगर उन्साङ्बाट परीक्षण प्रक्षेपण गरिएको उक्त क्षेप्यास्त्रले केहीबेरमै असफल नतिजा देखाएको जानकारी दिएको हो। परीक्षण गरिएको उक्त क्षेप्यास्त्र के कति क्षमता र शक्तिको थियो भन्ने तथ्य तत्काल खुल्न नसके तापनि यसबारे थप अनुसन्धान र विश्लेषण भइरहेको पनि सो मन्त्रालयले जनाएको छ।

यसैबीच उत्तर कोरियाले थप अर्को एउटा शक्तिशाली क्षेप्यास्त्र केही दिनपछि नै परीक्षण गर्ने तयारी गरिरहेको तथा क्षेप्यास्त्रवाहक ट्रकलाई परीक्षणस्थल उन्साङ् ल्याइसकेको र त्यहाँ उत्तर कोरियाली विशिष्ट व्यक्तिहरू बसी अवलोकन गर्ने मञ्चसमेत निर्माण भइरहेको अमेरिकी सैनिक गुप्तचरले जानकारी पाइसकेको बताइएको छ।

अमेरिकाले उत्तर कोरियाको यस्ता गतिविधिहरूको निगरानी बढाई उच्चतम सतर्कता अपनाइरहेको पनि अमेरिकी प्रतिरक्षा अधिकारीहरूले हिजो जनाएका छन्। केही दिनअघि आधुनिक र अत्यन्त शक्तिशाली रकेट इन्जिनको सफल परीक्षण गरी अन्तरीक्ष अनुसन्धानमा सघाउ पुर्याएको भनी उत्तर कोरियाले दाबी गरे तापनि उक्त परियोजना, शक्तिशाली र अत्याधुनिक ब्यालेस्टिक क्षेप्यास्त्र उत्पादन तथा भण्डारणसँगै सम्बन्धित भएको हातहतियार विज्ञहरूको विश्लेषण रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्