वेदव्यासको चरित्रमा फिल्म बनाइने



तनहुँ, (नेस)। ४ वेद र १८ पुराणका रचायिता व्यासका २८औं अवतार वेदव्यासको चरित्रमा फिल्म निर्माण गरिने भएको छ। व्यास क्षेत्र विकास कोष दमौली तनहुँको आयोजनामा फिल्म निर्माण गरिने भएको हो।

व्यासका अध्यता काशीनाथ न्यौपानेको पुस्तक महर्षी वेदव्यास, वेदमा आधारित विभिन्न पुस्तक, योगी नरहरिनाथले २०४१ सालमा कोटीहोम, धर्मसभा एवं देश दर्शन पुस्तकलगायतका सन्दर्भ सामग्रीलाई आधार मानेर व्यासको जन्म तनहुँको सेतीमादी दोभानमा भएको भन्ने तथ्यमा फिल्म निर्माण गरिन लागेको हो। २८औं व्यासलाई विश्वसामु चिनाएर धार्मिक पर्यटनको विकास गरी विश्वमा रहेका सवा तीन अर्ब हिन्दुलाई यस क्षेत्रमा ल्याउन र फिल्ममार्फत् वेदव्यासको जन्मभूमि तथा वेदलाई विश्वसामु लगेर यस ठाउँको प्रचारप्रसार गर्ने उद्देश्यले फिल्म निर्माण गर्न लागिएको हो। फिल्म कार्यक्रमका प्रमुख अतिथि पूर्वनिर्वाचन आयुक्त रामचन्द्र शर्मा पौडेलले वेदव्यासले हिन्दु धर्मलाई निर्देशन गरेकाले सबै हिन्दु धर्मालम्वी व्यास अनुयायी चर्चा गरे। राष्ट्रिय परोपकार महासंघका केन्द्रीय अध्यक्ष एवं भागवत भाष्कर कमलनयन गौतमले राम्रा ेकाम कहिल्यै नमर्ने हुँदा सबैले साथ दिनुपर्ने बताए। फिल्मलाई लेखक तथा निर्देशक यादव खरेलले निर्देशन गर्ने बताइएको छ।

खरेलले ५ हजार वर्षअगाडिको वैदिक कुरा समेटेर फिल्म निर्माण गर्न कठिन हुने चर्चा गर्दै निर्माण सम्पन्न गर्न सके अहिलेसम्मकै उत्कृष्ट फिल्म हुने बताए। अशोककुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न तयारी सभामा बोल्ने वक्ताहरुले राष्ट्रियस्तरका विद्वानद्वारा पुष्टि गरेर मात्र फिल्म बनाउन सुझाए। प्राध्यापक मुकुन्दशरण उपाध्यायले हिन्दु धर्मको नाममा भएका विकृति हटाएर हिन्दु धर्म सामाजिक विकृतिको पक्षमा छैन भन्दै फिल्मले सकारात्मक सन्देश दिने बताए।

 

प्रतिक्रिया दिनुहोस्