सन्नीलाई अर्को मौका



पूर्वक्यानेडियन पोर्नस्टार तथा बलिउड नायिका सन्नी लियोनको करियर हिजोआज त्यति राम्रो चलेको छैन। उनले पछिल्लो समय अभिनय गरेका केही फिल्मले बक्स अफिसमा लगातार असफलता भोगिरहेका छन्।

हाल उनलाई लिएर फिल्म निर्माता पुरी जग्गनाथले अब एक ठूलो फिल्म बनाउने सोच बनाएका छन्। भारतीय सञ्चारमाध्यमलाई उनले बताएअनुसार सन्नी अभिनित रइस र उनको गीत लैला ओ लैला हेरेपछि उनले आफ्नो फिल्ममा लिन लागेका हुन्। तर अब उनी सन्नीको प्रतिभालाई आइटम नम्बरमा मात्र सीमित राख्न चाहँदैनन्। उनले भनेका छन्– ‘म सन्नीलाई हिरोइनको रोलमा लिएर ठूलो फिल्म बनाउँदै छु। हामी यस बारेमा छलफल गर्दै छौ र छिट्टै नै फिल्मको घोषणा पनि गर्नेछौं।’ उनको भनाइ छ कि उनी सन्नीद्वारा अभिनित फिल्म हिन्दी अथवा तेलगुमा रिलिज हुनेछ।

सन्नी अभिनित मस्तिजादे, वन नाइट स्ट्यान्ड, कुछ कुछ लोचा हे, बेइमान लभ जस्ता फिल्म यसरी फ्लप भए कि उनलाई लिएर फिल्म बनाउने निर्माताहरुले अब उनलाई लिनै छोडिसके। सन्नीको एक फिल्म टिना और लोलो निर्माण भई तयारी अवस्थामा छ। तर, रिलिज हुन पाएको छैन। फिल्ममा सन्नीका साथ करिश्मा तन्ना छिन्।

केही समयअघि निर्देशक इकराम अख्तरले सन्नीलाई लिएर यारो कि बारात नामक फिल्म निर्माण गर्ने घोषणा गरेका थिए। उनले यो फिल्मले सन्नीको इमेज नै बदलिने दाबी गरेका थिए। तर, अहिलेसम्म यसको बारेमा केही चर्चा चलेको छैन। लाग्छ कि सन्नीको फिल्म लगातार फ्लप हुन थालेपछि उनले सन्नीलाई लिएर फिल्म निर्माण गर्ने जोखिम मोल्न चाहेनन्।

 

प्रतिक्रिया दिनुहोस्