विमानभित्र ठूला विद्युतीय उपकरण प्रतिबन्धित



वासिङ्टन, (एजेन्सी)
अमेरिकाले मंगलबार विश्वका आठवटा मुस्लिम बाहुल्य राज्यबाट हुने यात्रुवाहक विमान उडानमा क्याविन ब्यागेजमा ठूला विद्युतीय उपकरणमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ। डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस) ले अतिवादीहरूले जेटविमान खसाल्नका लागि अत्याधुनिक प्रविधि प्रयोग गर्न खोजिरहेको दाबी गरेको छ।

डीएचएसले तिनीहरूले ल्यापटप, ट्याब्लेट्स, क्यामेरा, डीभीडी प्लेयर र इलेक्ट्रोनिक गेम्सभित्र बम लुकाउन सक्ने पनि जनाएको छ। विश्वका दशवटा विमानस्थलमा नौवटा एयरलायन्समाथि यो नयाँ नियम लागू हुने बताइएको छ। चेक गरिएका ब्यागेजमा मात्र त्यस्ता विद्युतीय सामान विमानमा चढाउने अनुमति दिइने भएको छ।

यसै गरी यस नयाँ नियममा फोनलाई भने छुट दिइएको छ। यस नियमबाट प्रभावित हुनेहरूमा रोयल जार्डानियन, इजिप्ट एयर, टर्किस एयरलायन्स, साउदी अरेबियन एयरलायन्स, कुवेत एयरवेज, रोयल एयर मारोक, कतार एयरवेज, इमिरेट्स र इतिहाद एयरवेज रहेका छन्।

अमेरिकी अधिकारीहरूले ती एयरलायन्सलाई उक्त नियम लागू गर्न मंगलबारदेखि ९६ घण्टा म्याद दिएका छन्। यस कानुनबाट प्रभावित हुने दशवटा विमानस्थलमा मोरोक्कोको क्यासाब्लान्कास्थित माहेमद भि इन्टरनेसनल, टर्कीको इस्तानबुलस्थित अतातुर्क एयरपोर्ट, इजिप्टको कायरो इन्टरनेसनल एयरपोर्ट, जोर्डनको अम्मानस्थित क्विन एलिया इन्टरनेसनल, साउदी अरेबियाको जेद्धाहस्थित किंगअब्दुलाजिज इन्टरनेसनल, साउदी अरेबियाको रियादस्थित किंग खालिद इन्टरनेसनल, कुवेत इन्टरनेसनल एयरपोर्ट, कतारको दोहास्थित हमाद इन्टरनेसनल, संयुक्त अरब इमिरेट्स (यूएई) को अवुधावी इन्टरनेसनल र यूएईकै दुबई इन्टरनेसनल रहेका छन्।

प्रतिक्रिया दिनुहोस्