बाल रंगमञ्च दिवसमा क्लाउन शो



मार्च २० लाई विश्वभर बाल रंगमञ्च दिवसका रूपमा मनाउने क्रममा सुनधारास्थित नाटकघर थिएटर मलमा जर्मनीबाट आएका रंगकर्मीको क्लाउन शोका साथमा नेपालमा बाल रंगमञ्च दिवस मनाइएको छ।

बालबालिकालाई नाटकघर लैजाऔं, उनीहरु पनि देख्न, सुन्न, महसुस गर्न, सोच्न र कल्पना गर्न सक्छन् भन्ने अभियानका साथ यो दिवस मनाइएको थिएटर मलले जनाएको छ। बाल रंगमञ्चसम्बन्धी अन्तर्राष्ट्रिय छाता संगठन आसितेज इन्टरनेसनलको नेपाल च्याप्टर आसितेज नेपाल र थिएटर सेन्टर फर चिल्ड्रेन नेपालले क्लाउन शो र औपचारिक कार्यक्रम गर्दै यो दिवस मनाएको हो। सोमबार थिएटर मल नाटकघरमा विदेशी तथा स्वदेशी रंगकर्मी, अभिभावकमाझ जर्मनीबाट आएका अन्तर्राष्ट्रिय बाल नाट्य समूह क्लाउन विथबाउट बोर्डर्सको क्लाउन नाटक देखाइएको थियो। विश्वभर विभिन्न १४ समूह रहेको यस नाट्य संस्था क्लाउन विथ आउट बोडर्सको एक समूह नेपाल भ्रमणमा छ। संसारका सबै बालबालिका खुसी रहनुपर्छ भन्दै उनीहरुले मनोरञ्जक क्लाउन तयार पारेका क्लाउनका निर्देशक तथा कोरियोग्राफर सोनियाले बताइन्। क्लाउन नाटकमा टोनी (फिलिप), सुसी (केला), अर्नी (फ्ल्प्स), ब्रिगिड (बेला)ले रमाइलो कथात्मक क्लाउन प्रस्तुत गरेका थिए।

बाल कलाकार अरविन खड्कालाई नै प्रमुख अतिथि बनाएर शुरु गरिएको कार्यक्रममा उनले छोराछोरीलाई नाटकघर लैजाने बानी बसाल्न आग्रह गरे। उनले थिएटर मलमा कार्यशाला लिई नाटक तथा फिल्म जात्रामा अभिनयमा गरेका छन्। कार्यक्रममा नेपाली बालसाहित्यकार शान्तदास मानन्धर, थिएटर सेन्टर फर चिल्ड्रेन र थिएटर मलका कला निर्देशक केदार श्रेष्ठले कथा सुनाएका थिए। आसितेज नेपालका अध्यक्ष दिपर्शनजंग राणाले बालबालिकामा बाल रंगमञ्चले पार्ने प्रभावको बारेमा प्रकाह पारे। उनले आसितेज नेपालका गतिविधिहरु जानकारी गराउँदै यो सातालाई प्रदर्शन साताका रूपमा मनाउने जनाए।

प्रतिक्रिया दिनुहोस्