दासढुंगामा पल र पूजाको रोमान्स

0
Shares

निर्देशक सुदर्शन थापाले प्रेमगीतको सफलतापछि त्यसैको गीतलाई फिल्मको नाम दिई म यस्तो गीत गाउँछु बनाइरहेका छन्। उनले फिल्मको छायांकन शुरू भएको झण्डै एक महिनापछि पहिलोपटक आफ्नो फिल्मका तस्वीरहरु सार्वजनिक गरेका छन्।

उनको यो अर्को महत्वकांक्षी फिल्म म यस्तो गीत गाउँछुबाट सार्वजनिक गरिएका तस्वीरमा यसका मुख्य दुई कलाकार पल शाह र पूजा शर्माको रोमान्स छचल्किएको छ। पल र पूजा फिल्ममा केन्द्रीय भूमिकामा छन्। उनीहरुका साथमा फिल्ममा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, प्रज्वल सुजल गिरीलगायतले मूख्य भूमिकामा अभिनय गरिरहेका छन्।

फिल्मको किन आजकल तिम्रो मन मैलो भो बोलका गीतमा पल र पूजाको रोमान्स छचल्किएको देखिन्छ। चितवनको दासढुंगा वरपर खिचिएका गीतमा एक सयभन्दा बढी कोरसहरु समावेश गरिएको छ। फिल्ममा कविराज गहतराजले कोरियोग्राफी गरेका छन्। ‘फिल्मको सुटिङ शुरु भएको २५ दिन भयो। ६० प्रतिशत सिनको काम सकेर गीतको भिजुलाइज गरिरहेका छौँ’ –निर्देशक थापाले जानकारी गराए । ‘हामी फिल्मको सेड्युलभन्दा एक दिन पनि तलमाथि छैनौँ। यही, तरिकाले काम भयो, मौसम र समयले साथ दियो भने ४५ दिनमा फिल्मको सबै सुटिङ सक्काउन सक्छौँ।’ उनले पोखरा आसपासका रोचक दृश्य खिचिएपछि सुटिङ युनिट बाँकी कामका लागि माथिल्लो मुस्ताङ पुग्ने जानकारी गराए।

फिल्ममा संगीत अर्जुन पोखरेलको छ भने छायांकन सञ्जय लामाले गरिरहेका छन्।

सुदर्शनले प्रेमगीतको सफलतापछि आफ्नै लगानीमा फिल्म निर्माण गरेका हुन्। फिल्ममा नायिका पूजा शर्मा सहनिर्मात्री छिन्।

Skip This