अंशु मिस नेवाः पोखरा



धन बस्नेत, पोखरा
निर्णायकहरुले सोधेका प्रश्नहरुको उत्कृष्ट जवाफ दिँदै अंशु शाक्यले मिस नेवाः पोखराको ताज चुमेकी छिन्। १७ प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले उपाधि चुमेकी तेर्सापटीकी उनले मिस ट्यालेन्टको उपउपाधिलाई पनि आफ्नो बनाएकी छिन्।

प्रतियोगिताको मुख्य उपाधिसँगै उनले ४० हजार नगद, सिजी ब्रान्डको ३२ इन्चको एलईडी टिभी तथा गिफ्ट ह्याम्पर प्राप्त गरिन्। २० वर्षीया मिस नेवाः शाक्यलाई मिस नेवाः पोखरा नेपाल संवत् ११३६ एलिशा जोशीले चाँदीको ताज पहिराइदिएकी थिइन्। नेवा खलः कास्कीको आयोजनामा भएको प्रतियोगितामा रामकृष्ण टोल पोखराकी निकिता लिगलले फस्ट रनर्सअप हुँदै २५ हजारसहित सिजीको माइक्रोओभन र गिफ्ट ह्याम्पर प्राप्त गरिन् भने चिप्लेढुंगाकी प्रार्थना डंगोल बेस्ट पर्सनालिटीसहित सेकेन्ड रनर्सअप भइन्। उनले नगद १५ हजार रुपियाँसहित सिजीको माइक्रोओभनका साथै गिफ्ट ह्याम्पर प्राप्त गरिन्।

कार्यक्रममा निकै रोचक र नौलो किसिमले अन्तिम प्रश्न गरिएको थियो। उनीहरुलाई डोकोमा बच्चा बोकेर हिँडिरहेकी महिलाको तस्वीर देखाएर तस्वीरको विवेचना गर्न लगाइएको थियो। प्रतियोगितामा भ्युअर्स च्वाइस अवार्ड र बेस्ट नेवारी ल्याङ्वेजको उपउपाधि मोहोरिया टोलका रसना बुद्धाचार्यले जितिन्। उनले यी उपाधिका लागि क्रमशः ७ र ५ हजारसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरिन्। त्यसै गरी नदीपुरका ज्यास्मिन श्रेष्ठले बेस्ट स्माइल, बागबजारकी श्रद्धा श्रेष्ठले मस्ट फ्रेन्ड्ली र नयाँबजारकी सिम्रन श्रेष्ठले मिस फोटोजेनिकको उपाधि जिते। उनीहरुलाई पुरस्कारस्वरूप जनही ५ हजार प्रदान गरिएको छ।

कार्यक्रममा बोल्दै नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले नेवारी भाषा संस्कार र संस्कृति जगेर्ना तथा युवा पुस्तामा हस्तान्तरणका लागि कार्यक्रम आयोजना गरिएको तथा मिस नेवाः पोखराका सहभागीहरुले समेत नेवारी संस्कारको जगेर्नाका लागि विभिन्न कार्यक्रम गरी टेवा पुर्याएको चर्चा गरे।

प्रतिक्रिया दिनुहोस्