उत्तर कोरियाद्वारा शक्तिशाली रकेट इन्जिन परीक्षण



सोल, (एजेन्सी)
उत्तर कोरियाले अत्याधुनिक प्रविधियुक्त तथा आगोको अत्यन्त ठूलो मुस्लो फाल्दै अति तीव्र गतिमा उड्न सक्ने रकेट इन्जिनको आइतबार सफल परीक्षण प्रक्षेपण गरेको तथ्य कोरियन सेन्ट्रल न्युज एजेन्सि (केसिएनए) ले जनाएको छ।
उत्तर कोरियाली नेता किम जोङ उनले यस परीक्षणलाई अन्तरिक्ष अनुसन्धान कार्यक्रमतर्फ राष्ट्रकै उल्लेखनीय क्रान्तिकारी उपलब्धिको संज्ञा दिएका छन्।
उत्तर कोरियाको सोहाए प्रक्षेपणस्थलबाट उक्त इन्जिनको सफल परीक्षण गरिएको र नेता किम जोङ उन पनि उक्त परीक्षण कार्यक्रममा उपस्थित रहेको बताइएको छ।

नितान्त आफ्नै प्रविधि र मौलिक प्रयासमा उत्तर कोरियाले अन्तरिक्ष तथा ग्रहहरूको अनुसन्धान गरिरहेकोमा यस्तो परियोजनालाई थप बलियो र सफल बनाउने दिशामा यस परीक्षण ऐतिहासिक महत्त्वको एक ठूलो फड्को सावित भएको किमले बताएक छन्। उनले उत्तर कोरियाली रकेट उद्योगको विकासमा हासिल भएको यस क्रान्तिकारी उपलब्धिलाई ‘मार्च १८ रिभोल्युसन नामकरण गर्नु उपयुक्त हुने बताएक छन्।

उत्तर कोरियाद्वारा सञ्चालित अन्तरिक्ष अनुसन्धान कार्यक्रमअन्तर्गत प्रक्षेपण गरिने रकेट, भू–उपग्रह इत्यादिमा यस्तै इन्जिन जडान गरिने पनि केसीएनएले जनाएको छ। लामा दूरीका क्षेप्यास्त्र परीक्षण गर्नबाट संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि लगाएको प्रतिबन्ध अझै कायमै छ।

तर, आफ्नो अन्तरिक्ष अनुसन्धान र भू–उपग्रह प्रक्षेपण परियोजना शान्तिपूर्ण प्रयोगका लागि भन्दै उत्तर कोरियाले गरेको यस पछिल्लो रकेट परीक्षणबाट अमेरिकालगायत अन्य राष्ट्र सशंकित रहेका छन्। यसैबीच संयुक्त राज्य अमेरिका र चीनले उत्तर कोरियाद्वारा सिर्जना गरेको आणविक चुनौती खतरा समाधान गर्न सहकार्य गर्ने शनिबार बताएका छन्।

प्रतिक्रिया दिनुहोस्