सी र टिलर्सनबीच भेटवार्ता ट्रम्पसँग टेलिफोन र एसएमएस सम्पर्क भइरहेको छः सी



बेइजिङ, (एजेन्सी)
चीन भ्रमणमा रहेका अमेरिकाका विदेशमन्त्री रेक्स टिलर्सनले आइतबार चिनियँँ राष्ट्रपति सी जिन पिङसँग भेटवार्ता गरेका छन्।

अमेरिकी विदेशमन्त्री टिलर्सनले बेइजिङस्थित ग्रेड हल अफ पिपुल्समा राष्ट्रपति सीलाई भेटेर चीन–अमेरिका सम्बन्ध सुधार गर्ने विषयमा छलफल गरेको अधिकारीहरूले जानकारी दिएका छन्।

वार्ताका क्रममा राष्ट्रपति सीले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग आफू टेलिफोन र ‘एसएमएस मार्फत् सम्पर्कमा रहेको बताएका थिए। राष्ट्रपति ट्रम्प र आफूबीचमा असल सम्बन्ध र सहकार्यका लागि अगाडि बढ्ने सहमति भएको पनि सीले बताए।

दुईपक्षीय हित र सहकार्य, क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा साझा धारणा बनाउन चाहेको पनि उनले बताएको अधिकारीहरूले बताए। राष्ट्रपति सीले आपसी समझदारीका आधारमा दुई पक्षीय सम्बन्धलाई पुनर्विचार गर्नुपर्नेमा समेत जोड दिएका थिए। उनले राष्ट्रपति ट्रम्पलाई चीनमा स्वागत गर्न आफू प्रतिक्षारत रहेको बताए।

राष्ट्रपति ट्रम्पको भ्रमणको तयारीकै लागि विदेशमन्त्री टिलर्सन बेइजिङ पुगेको जनाइएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले कार्यभार सम्हालेपछि चीनको आन्तरिक मामिला भनिएको ताइवानको मुद्दामा ट्रम्पको हस्तक्षेपकारी बयान र दक्षिण चीन सागरलाई लिएर बेइजिङ र वासिङटनबीचको सम्बन्धमा चिसोपना आएको छ।
ट्रम्प प्रशासन दक्षिण चीन सागरको ठूलो भू–भागमा चीनको दाबीलाई स्वीकार नगर्ने पूर्वअमेरिकी नीतिको पक्षमा कडारूपमा प्रस्तुत भइरहेको छ। त्यसै गरी ताइवानको मुद्दालाई लिएर पनि अमेरिकी नीतिमा पुनरावलोकन हुने कुरा उठाएको छ।

प्रतिक्रिया दिनुहोस्