हइटहाउससामु संदिग्ध ड्राइभर



वासिङटन, (एजेन्सी)
अमेरिकाको राष्ट्रपति भवन ह्वाइटहाउसको चेकप्वाइन्टसम्म कार लाने एक व्यक्तिलाई प्रहरीले शनिबार राति हिरासतमा लिएको अमेरिकी गुप्तचर सेवाले जनाएको छ। ती कारचालकसँग बम रहेको बताइएपछि तत्काल ह्वाइटहाउसको सुरक्षा बढाइएको सीएनएनले जनाएको छ।

सो कार शंकास्पद रहेको घोषणा गरिएपछि नजिकका सम्पूर्ण सडकहरू बन्द गरिएको थियो। यस घटनाको समय राष्ट्रपति डोनाल्ड ट्रम्प फ्लोरिडाको मार–ए–लागो रिसोर्टमा रहेका थिए।

स्थानीय समयअनुसार राति ११ बजेर ५ मिनेट जाँदा १५औं स्ट्रिट र ई स्ट्रिट एनडब्ल्यूमा रहेको चेकप्वाइन्टमा ती ड्राइभरलाई हिरासतमा लिइएको गुप्तचर सेवाले जनाएको छ। शनिबारकै दिन ह्वइटहाउस परिसरमा भएको यो दोश्रो डरलाग्दो घटना हो।

त्यसअघि एकजना व्यक्ति व्हाइट हाउस अगाडिको बफर जोनको वाइक स्ट्यान्डमा हामफालेका थिए। ह्वाइटहाउसका प्रवक्ता सिन स्पाइसरले ट्विटरमा ती परिचय नखुलाइएका ती व्यक्तिलाई ह्वाइटहाउसभित्र छिर्नबाट रोकेकोमा गुप्तचर सेवाको प्रशंसा गरेका छन्।

गत १० मार्चमा पनि एक व्यक्तिलाई मुख्य भवनको केही दूरीअगाडि फेला पारिएको थियो। जोनाथन ट्रान नामक २६ वर्षीय ती पुरुषलाई ह्वाइटहाउसको १६ मिनेटको दूरीमा हिरासतमा लिइएको थियो। गुप्तचर सेवाले भविष्यमा यस्तो सुरक्षा त्रुटी हुन नदिन तत्काल कदम चालिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्