सलोन नायकबाट गायक



चर्चामा रहेका पछिल्लो पुस्ताका नायक सलोन बस्नेत अब गायक पनि भएका छन्। पिता निर्देशक तथा निर्माता शोभित बस्नेत तथा अभिनेता काका जयकिशन बस्नेतको छत्रछायामा रहेर बाल्यकालमै बालकलाकारका रूपमा छाई हाल नायकका रूपमा चर्चा कमाएका सलोनले बाबु कान्छा नामक फिल्मका लागि गीत गाएका हुन्।

बाबु कान्छा उनको घरभित्रकै ब्यानरबाट बन्न लागेको पछिल्लो फिल्म हो। उनकै निर्माता निर्देशक तथा कलाकार पिता शोभित बस्नेतले निर्माण र निर्देशन गर्न लागेको नयाँ फिल्म बाबु कान्छाका लागि सलोनले मच्चीमच्ची चन्द्रमाझैं राम्री छौ बोलको गीत गाएका छन्। यो युगल फिल्म गीतमा उनलाई गायिका मेलिना राईले साथ दिएकी छिन्। यो गीत यसअघि शोभितकै फिल्म कर्णवीरमा पनि थियो।

कर्णवीरमा रहेको यो पुरानो गीतलाई सलोनले रिमिक्स भर्सनमा गाएका छन्। गायक तथा संगीतकार ओम सुनारले गीतलाई रिमिक्स गरेका छन्। गीतको ओरिजिलन भर्सनमा स्वर संगीत लक्ष्मण शेषको थियो। शोभितले कर्णवीरको सफलतालाई पुनर्ताजगी गराउन गीतलाई रिमिक्स गरिएको दाबी गरे। गीत गाउँदा फरक अनुभूति गरेको सलोनले बताए। केही नयाँ काम गर्ने चाहना र सबैको प्रेरणाले आफ्नो घरेलु फिल्मका लागि गीत गाएको सलोनले बताए।

निर्देशक शोभित बस्नेतले लामो समयको अन्तरालपछि यो फिल्म बनाउन लागेका हुन्। उनले बाबु कान्छा निकट भविष्यमै सुटिङ फ्लोरमा जाने बताए।

प्रतिक्रिया दिनुहोस्