कोरियाली प्रायद्वीपको आणविक विषयमा नयाँ धारणा आवश्यकः टिलर्सन



सोल,(एजेन्सी)

अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले कोरियाली प्रायद्वीपको आणविक मुद्दा समाधानबारे सम्पूर्ण विकल्प छलफलका लागि खुला राख्दै विगत लामो समयदेखि असफल भएको आणविक निशस्त्रीकरण प्रयासलाई सकारात्मक छलफलका साथ अधि बढाइने बताएका छन् ।

शुक्रबार दक्षिण कोरियाको राजधानी सोलमा आफ्ना कोरियाली समकक्षी युन व्यूंगसँग संयुक्ते पत्रकार सम्मेलनमा सहभागी हुनेक्रममा विगत २० वर्षयता कोरियाली प्रायद्विपलाई आणविक हतियार प्रयोगबारे संवेदनशील सचेत बनाउन गरिएको प्रयास असफल भएको र अब नयाँ धारणासहितको पहल आवश्यक भएको टिलर्सनले बताएका छन् ।

कुटनैतिक, सुरक्षा र आर्थिक उपाय लगायत अन्य सम्पूर्ण विकल्प खुला राख्दै कोरियाली प्रायद्वीपलाई आणविक रूपमा निशस्त्रीकरण गर्ने प्रयासमा यस अघि भएका सम्पुर्ण प्रयासलाई पुनरावलोकन गरिने बताएका छन् ।

यसअघि विहीबार टिलर्सनले जापानी समकक्षीसँग भेटी यस विषयमा धारणा राखेका थिए । अमेरिकी विदेश मन्त्रीका हैसियतमा उनीे पहिलोपटक दक्षिण कोरिया पुगेका हुन् ।

सम्मेलनमा उनले आफ्नो एसियाली मुलुकको भ्रमण आपसी विचार आदानप्रदानमा केन्द्रित रहने बताउँदै यस अवसरमा आफूले सोल, बेइजिङ¬ र प्योंगयांगसँग गहन छलफल गर्ने पनि बताएका छन् ।

अमेरिकी विदेशमन्त्रीले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियाको आणविक कार्यक्रम विरुद्ध कडा नाकावन्दी लगाउनुपर्ने आवश्यकताबारे संकेत गरेपनि उत्तरविरुद्ध तत्काल सैनिक आक्रमण गर्नैपर्छ भने भनेको छैन ।

तर उनले अमेरिकाले सैनिकद्वन्द्व नचाहेको तर आवश्यक परे तयारी अवस्थामा रहेको बताएका छन् । उत्तर कोरियाले यदि दक्षिण कोरिया र अमेरिकी सुरक्षा बललाई चुनौति दिन कुनै उत्तेजक गतिविधि गरेमा अमेरिका त्यसविरुद्ध खरो उत्रिने पनि उनले बताएका छन् ।
टिलर्सनले यसअघि सन् १९५३ मा उत्तर कोरिया र दक्षिण कोरियावीच युद्धविराम लागूभएपछि छुट्टाइएको युद्ध निषेधित क्षेत्र र यसको पानमुनजोन ग्रामिण वस्तीको अवलोकन गरेका थिए ।

टिलर्सनको कोरियापछि चीनको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ । १९५० देखि १९५३ सम्म चलेको कोरियायाली युद्ध कुनै औपचारिक शान्ति सम्झौतामा नभइ युद्ध विराममा मात्र टुँगिएकाले प्राविधिक रुपमा उत्तर र दक्षिण कोरिया अझै युद्धरत रहेको मानिन्छ ।

प्रत्येक वर्ष अमेरिका र दक्षिण कोरियाबिच हुने गरेको संयुक्त सैनिक अभ्यासलाई आफु माथिको आक्रमणको तयारी मान्दै उत्तर कोरियाले ति दुवै राष्ट्रलाई पटक पटक आणविक आक्रमणगर्ने चेतावनी दिइसकेको छ । सुरक्षा परिषदको नाकावन्दिको वावजुद पनि प्योंगयांगले आणविक र क्षेप्यास्त्र परिक्षण कार्य जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्