त्रिशूली किनारमा रेखाको आधा जीवन



जोआज म्युजिक भिडियो निर्माणका लागि टाढै होस्, मनोरम र सुन्दर दृश्य खोजी गरिन्छ। यस्तै खोजी गर्ने क्रममा एउटा गीतको म्युजिक भिडियो निर्माणका लागि एक टोली राजधानीनजिकैको गल्छी हुँदै नुवाकोटको जिलिङ काभिटार देवीघाट–२ बटार पुगेर त्यहाँको मनोरम दृश्यलाई भिडियोमा उतारेको छ।

म्युजिक भिडियो बनाइएको गीत थोरै महिला संगीतकारमध्येकी एक रेखा पौडेलको हो। आधा जीवन बोलको यो गीतमा उनी स्वयंले संगीत भरेकी छिन् भने स्वर पनि उनकै छ। रमाइलै कुरा भन्नुपर्छ यो युगल गीतमा उनलाई गायनतर्फ उनकै सहोदर दाइ सञ्जीवकुमार पौडेलले साथ दिएका छन्।

सुख पनि आधा परोस्
दुःख पनि आधा
दुवै मिली झेल्ने हो कि
जिन्दगीको बाधा।
यो प्रेमिल भावको गीतको म्युजिक भिडियोलाई यसका निर्देशक दीपेन्द्र तिमल्सिनाले कथानक रूप दिँदै क्यामरामा कैद गराए। प्रेमी मन भएकाहरुका लागि तयार पारिएको गीतलाई कथानक रूप दिने क्रममा दीपेन्द्रले अन्तरजातीय प्रेमकथा बुने र त्यहीअनुसार सट डिजाइन गरे। छायाँकार नवराज उप्रेतीले सोहीअनुसार फ्रेम लगाए।

गीतको भावअनुरूप त्यसलाई भिडियोमा उतार्न जम्बो सुटिङ टोली प्रयोग गरिएको थियो। सुटिङ हेर्नका लागि स्थानीयबासीको भीड लागे पनि युनिट भने काममै रमायो। किशोरावस्थाको मायाप्रेम तथा जिन्दगीका आरोह–अवरोहलाई पर्दामा उतारिएको भिडियोमा उतार्ने क्रममा कहिले त्रिशूलीको खोलाको किनार त कहिले स्थानीय भव्य रिसोर्ट, कहिले बगैंचा त कहिले जंगल पुगेर टोलीले छायांकन गर्यो। म्युजिक भिडियो भन्नासाथ प्रायः एकैदिन वा केही घन्टामा हतारका साथ सुटिङ सकाइने चलन चलिरहेको बेला यो भिडियोको निर्माण कम्पनी निर्भाना कला केन्द्रले २ दिन लगाएर डेदेखि नाइट सिफ्टसम्मको सुटिङ सम्पन्न गर्यो। भिडियोमा नरेन खड्का र कशिष दाहाल प्रेम जोडीका रूपमा प्रस्तुत भएका छन् भने उनीहरुको अभिभावकका रूपमा मोडल तथा गायिका सुनीता गुरुङ र निर्भानाका सञ्चालक रमेश श्रेष्ठ देखिएका छन्। भिडियो निर्देशनमा दीपेन्द्रलाई नवराज रिजालले सघाएका छन्।

यो गीतमा गीत रचना मीनसागर लामा र संगीत संयोजन सन्तोष प्रधानको रहेको छ भने भिडियोको निर्माता रामराजा श्रेष्ठ तथा बजार व्यवस्थापन निर्भाना टिभी नेपालको रहेको छ।

यो मनोरम र आकर्षक म्युजिक भिडियोलाई चाँडै नै सार्वजनिक गरिने उत्पादक तथा निर्माण कम्पनी निर्भाना कला केन्द्रले जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस्