६० पुगे शम्भुजित



ख्यातिप्राप्त संगीतकार, गायक तथा गीतकार शम्भुजित बास्कोटा बुधबार ६० वर्ष पुगेका छन्। जन्मदिनलाई उति साह्रो महत्त्व दिएर नमनाउने यी सदाबहार संगीतकारलाई घरपरिवार र शुभेच्छुकको आशीर्वाद र शुभेच्छा नै काफी लाग्छ रे।
‘बिहान उठ्नेबित्तिकै ९६ वर्षीया आमाले अंगालो हाल्दै फूलको गुच्छा दिएर ह्याप्पी बर्थडे टु यु भन्नुभयो। त्यो उमेरको आमाले आशीर्वादका २ शब्द भन्दा नै संसारको सबैभन्दा ठूलो खुसी मिलेजस्तो भयो’, गायक कम संगीतकार शम्भुजितले नेपाल समाचारपत्रसँग कुरा गर्दै भने– ‘परिवारबाट पनि शुभकामना पाएँ। त्यसपछि दिनभर लगातार शुभेच्छुकहरूको आशीर्वाद र शुभकामना पाइरहेको छु। अफिस गएँ, अफिसमा पनि सबैले विस गर्नुभयो। हिट्स एफएमले फोन गरेर बोलाएर कार्यक्रम नै गरेर शुभकाना दियो। अरू एफएमले पनि जानकारी लिए। अस्ट्रेलियाबाट संगीतकार छोरा सौर्यजित आएको छ, बेलुकाको समय उसैसँग बिताउँछु।’ उनले अर्को प्रसंग जोड्दै भने– ‘बलिउडका आमिर खान पनि आजै (बुधबार) ५२ वर्ष पुगेका रहेछन्। उनीभन्दा म ८ वर्ष त जेठो रहेछु नि, केवल ८ वर्षको आमिरले जोसका साथ काम गरिरहेका छन्। यो सम्झेर मेरो पनि जोस अभैm बढेको छ। आजको दिनसम्म संगीत क्षेत्रकै लागि काम गर्दै आएको छु। अब पनि यही क्षेत्रकै लागि काम गरिरहनेछु।’

बर्थडेका दिन उनलाई लाग्दो रहेछ– ‘यो दिन रमाइलो पनि महसुस हुन्छ। आयु घटेकोमा दुःख पनि लाग्छ। जीवनभर ऊर्जाशील भएर संगीतको काममै लागेँ, यो क्षेत्रका लागि केही भए पनि गर्न सकेको छु भन्ने कुराले उत्साहित पनि गर्छ। हरेक बर्थडेका दिन अझै परिपक्व भएझैं लाग्छ। संगीतमा पनि अझै परिपक्व भइरहेको छु भन्ने महसुस हुन्छ। कतिले कम उमेरमा पनि धेरै काम गरेका छन् भने कतिले धेरै उमेर भएर पनि काम गर्न सकेका छैनन्, म यो उमेरसम्म पनि संगीतकै सेवामा छु भन्ने काम गरिरहेको छु भन्ने कुराले उत्साहित हुन्छु।’ तिथिको हिसाबले उनको जन्मदिन होलीको दिनमा पर्दो रहेछ, मितिको हिसाबले भने चैत २ गते।

३४ वर्षसम्म नेपाल प्रज्ञा प्रतिष्ठानको संगीत निर्देशक भएर सेवा गरेका शम्भुजितले विभिन्न कालखण्डका सरकारबाट पाएको फरकफरक जिम्मेवारी पनि पूरा गरेका छन्। त्यस क्रममा चलचित्र विकास बोर्डको पहिलो कार्यकारी अध्यक्ष भएका उनले त्यहाँ रहँदा बोर्डको हाल चावहिल सरस्वती नगरमा रहेको भवन निर्माण गरेका थिए। त्यसै गरी नेपाल टेलिभिजनको अध्यक्ष तथा महाप्रबन्धक भएर गएका बेला हरेक एक घण्टामा समाचार र स्क्रलिङ समाचार आउने व्यवस्था पनि मिलाएका थिए। हाल नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको उपकुलपति रहेका उनले आफ्नो बोर्डका साथ मिलेर त्यहाँका अस्थायी कर्मचारीलाई स्थायी बनाउन पनि भूमिका खेलेका थिए। बास्कोटाका अनुसार प्रतिष्ठानको भवन निर्माणका लागि ज्ञानेश्वरमा १५ रोपनी जग्गा सरकारबाट प्राप्त गर्ने कार्य पनि भएको छ।

विभिन्न संघसंस्थामा आबद्ध रहँदै संगीतकर्मलाई अगाडि बढाउँदै आएका बास्कोटाले हालसम्म ३ सय ५६ फिल्मका लागि संगीत दिइसकेका छन्। यसबाहेक सुगम र अन्य विधाका गरी गरेर २१ सय गीतका लागि संगीत दिएका छन्। भारत र नेपालका सबैजसो वरिष्ठ र कनिष्ठ गायक गायिकालाई आफ्नो संगीतमा गीत गाउन लगाइसकेका उनले डेढ दर्जन जति आधुनिक तथा सयभन्दा माथि फिल्मी गीतसमेत गाएका छन्। उनले केही दर्जन गीत रचनासमेत गरेका छन्।

फिल्मी टेलिभिजनको इतिहासमै पहिलो रियालिटी शो प्रतिभाको डबली बनाएर देखाएका उनी नेपालको पहिलो म्युजिक भिडियोको निर्देशक पनि हुन्। उनले अभिनेता भुवन केसीद्वारा स्वरबद्ध मायालु तिमी टाढा भइदिँदा बोलको गीतको म्युजिक भिडियो निर्देशन गरेका थिए, त्यो भिडियो नै नेपालको पहिलो म्युजिक भिडियो थियो। हाल उनले नायिका श्वेता खड्काद्वारा निर्माणाधीन फिल्म कान्छीका लागि संगीत तयार पारेका छन्।

प्रतिक्रिया दिनुहोस्