विमानमा हेडफोन पड्केर महिला घाइते



मेलबर्न, (एजेन्सी)
अस्ट्रेलियाको मेलबर्नबाट बेइजिङको उडानमा रहेको एक विमानमा हेडफोन पड्केपछि एक महिलाको अनुहार नराम्रोसँग जलेको छ।

ती महिला म्युजिक सुन्दै निदाएपछि उक्त दुर्घटना हुनपुगेको विमानका अन्य यात्रीले बताएका छन्। हेडफोन पड्केको आवाजले महिला निद्राबाट ब्युँझिएपछि उनले हेडफोन निकालेर भुइँमा फ्याँकेकी थिइन्।

पीडित महिलाले भनिन्– ‘म मेरो अनुहार समाउन पुगें जसले हेडफोन मेरो घाँटीमा बेरिन पुग्यो। त्यो बलिरहेको थियो। मैले तत्काल त्यसलाई निकालेर भुइँमा फ्याँकें।’

ती महिलाको अनुहार र हात नराम्रोसँग जलेको थियो। उक्त घटनालगत्तै चालक दलका सदस्य त्यहाँ पुगे र भुइँमा रहेको हेडफोनमा पानी खन्याएर आगो निभाए। त्यतिबेलासम्म हेडफोन पग्लेर भुइँमा टाँसिसकेको थियो।

उक्त हेडफोन कुन ब्रान्डको हो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन। घटनाका कारण पनि थाहा हुन सकेको छैन तर लिथियम–आइरन ब्याट्रीको गडबडीका कारण भएको हुनसक्ने अनुमान गरिएको छ।

घटनापछि अस्ट्रेलियन ट्रान्सपोर्ट अथोरिटीले उडानका क्रममा ब्याट्रीबाट सञ्चालन हुने डिभाइसको प्रयोगलाई लिएर सावधान रहन नयाँ निर्देशन जारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्