आजबाट मानवअधिकार फिल्म महोत्सव



नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको पाँचौं संस्करण मेरो पनि अधिकार छ भन्ने मूल नारासहित आज बिहीबारबाट राजधानीमा शुरू हुँदै छ।

नेपाल पर्यटन बोर्डमा हुने महोत्सवमा देवकी विष्टले निर्देशन गरेको देउकी शुभारम्भ फिल्मको रूपमा प्रदर्शन गरिनेछ। यो फिल्ममा नेपालको पश्चिम र सुदूरपश्चिमाञ्चल क्षेत्रमा परम्परागतरूपमा धर्म र परम्पराका नाममा युवतीलाई मन्दिरमा चढाउने (देवीका नाममा छोडिदिने) परम्पराको चित्रण गरिएको छ।

महोत्सव ६ चैत्रसम्म नेपाल पर्यटन बोर्डमा सञ्चालन हुनेछ। महोत्सवमा विश्वका ३८ देशबाट प्राप्त ९० भन्दा धेरै फिल्म प्रदर्शन गरिने आयोजकले जानकारी गराएका छन्। विश्वभरिका विभिन्न देशका कथानक फिल्मका साथमा डकुमेन्ट्री प्रदर्शन गरिनेछ भने उत्कृष्ट अन्तर्राष्ट्रिय र राष्ट्रिय कथानक फिल्म तथा वृत्तचित्रलाई पुरस्कृत गरिनेछ।

शुक्रबार मानवअधिकार र नेपाली चलचित्र शनिबार नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरण विषयमा छलफलसमेत गरिने भएको छ। यसका साथै भारतीय फिल्म निर्देशक गिरिश कासरावल्लीको मास्टर क्लास पनि हुनेछ।

महोत्सवमा नेपाली फिल्मका निर्देशक तुलसी घिमिरे, भारतीय निर्देशक गिरिश कासरावल्ली, बंगलादेशका फिल्म समीक्षक अमेद मुज्ताब जामल र डच फिल्म निर्माता क्लेमेन्टाइन इड्रिभनले निर्णयकको भूमिका निर्वाह गर्नेछन्।

महोत्सवको समापनमा निर्णयकहरूले छनोट गरेका चार फिल्म राइनो अवार्ड प्रदान गरिने आयोजकले जानकारी गराएका छन्। उत्कृष्ट अन्तर्राष्ट्रिय फिल्म र वृत्तचित्रका साथै नेपाली फिल्म र वृत्तचित्र तथा जुरी अवार्ड प्रदान गरिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्