रोजिन एक्टिङ कम्पिटिसनमा



फेसन सो तथा सौन्दर्य प्रतियोगिताको कोरियोग्राफी, इमेज टेलिभिजनमा नेपाल भाषाको समाचार वाचन, फेसन पत्रकारिता, रंगमञ्चीय कार्यक्रमको उद्घोषण, फेसन कलेज अध्यापनलगायतका क्षेत्रमा आफूलाई निरन्तर सक्रिय राख्दै आएका फेसन कोरियोग्राफर एवं सञ्चारकर्मी रोजिन शाक्य टेलिभिजिन रियालिटी सोको प्रस्तोताका रूपमा देखिएका छन्।

ईमेज च्यानलमा प्रत्येक बिहीबार बेलुकी ८.२० बजे प्रशारण हुन थालेको अभियनसंग सम्बन्धित टेलिभिजिन रियालिटी सो नेसनल एक्टिङ कम्पिटिसनमा रोजिन कार्यक्रम प्रस्तोताका भूमिका देखिन थालेका हुन्। नेक्स्ट मोडल्स नेपालको आयोजनामा सञ्चालन हुँदै गरेको यो प्रतियोगितामा नाट्यकर्मी एवं अभिनेता अनुप बराल, अभिनेत्री ऋचा शर्मा तथा अभिनेता दयाहाङ राईले निर्णायकको भूमिका निर्वाह गरेका छन्।

टेलिभिजन कार्यक्रम प्रस्तोताका रूपमा रोजिनका लागि यो लामो समयपछिको कार्य थालनी हो। उनले यसअघि २०५८ सालमा च्यानल नेपालमा फिल्मसँग सम्बन्धित दुई कार्यक्रम सप्तरंगी र सिनेबाइट्स सञ्चालन गरेका थिए भने २०६० सालमा एनटिभी टुमा प्रवेश गरेका थिए। त्यहाँ करिब ६ वर्षसम्म फेसन सम्बन्धित कार्यक्रम फेसन बज र फिल्मसम्बन्धी कार्यक्रम सिने सिज्लर कार्यक्रमको प्रस्तोता एवं निर्माताका रूपमा भूमिका निर्वाह गरेका थिए। विगत आठ वर्ष यताबाट रोजिन नेपाल भाषाको समाचार वाचकका रूपमा प्रस्तुत हुँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्