ट्रम्पको तलब च्यारिटीलाई दिइने



वासिङ्टन, (एजेन्सी)
चुनाव प्रचारप्रसार अभियानको दौरान आफूले मासिक तलब नलिने घोषणा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब भने तलब लिने विचार व्यक्त गरेको राष्ट्रपति भवन ह्वाइट हाउसका प्रेस सचिव सिन स्पाइसरले सोमबार बताएका छन्।

प्रेस ब्रिफिङका क्रममा स्पाइसरले सो तलब रकम भने कुनै च्यारिटीलाई चन्दा स्वरुप उपलब्ध गराइने जानकारी दिएका छन्। संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदमा रहेर झन्डै दुई महिना काम गरिसकेका ट्रम्पले ५० हजार डलरभन्दा बढी पैसा कमाइसकेको बताइएको छ।

सन् २००१ यता राष्ट्रपतिको कुल वार्षिक तलब रकम ४ लाख डलर पु))याइएको थियो। ट्रम्पले सो च्यारिटी रकम कसलाई दिने भन्ने निर्णय गर्ने जिम्मेवारी ह्वाइट हाउसकै प्रेस विभागलाई दिएका छन्। सन् २०१५ को सेप्टेम्बरमा चुनावी अभियान दौरान आयोजना भएको ट्विटर प्रयोगकर्ताहरुसँगको प्रश्नोत्तर कार्यक्रममा ट्रम्पले यदि आफू राष्ट्रपति चुनिएको खण्डमा तलब स्वरुप एक डलर पनि नलिने प्रतिबद्धता जाहेर गरेका थिए।

यसैबीच उक्त प्रेस ब्रिफिङमा सहभागी भएका एक जना पत्रकारले ह्वाइट हाउसको पत्रकार संघलाई सो रकम पत्रकारहरुका लागि छात्रवृत्ति दिन प्रयोग गर्न सल्लाह दिएका छन्।

प्रतिक्रिया दिनुहोस्