१० हक्कानी लडाकू मारिए



काबुल, (एजेन्सी)
अफगानिस्तानको पाक्तिका प्रान्तको पूर्वीक्षेत्रमा भएको सुरक्षा कारबाहीमा सोमबार कम्तीमा १० जना हक्कानी इस्लामिक समूहका लडाकूको मृत्यु भएको जनाइएको छ।

सोमबार साँझ भएको उक्त कारबाहीका क्रममा हक्कानीका एक जना उच्च तहका कमान्डर र अरू नौ जना लडाकू मारिनुका साथै दुई जना घाइते भएको गृहमन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
घटनामा मारिनेहरूको विस्तृत विवरण भने सुरक्षा निकायले अहिलेसम्म सार्वजनिक गरेको छैन। घटनास्थल राजधानी काबुलदेखि १ सय ५५ किलोमिटर दक्षिण पर्दछ।

तालिवान समूहसँग नजिक रहेका हक्कानी लडाकूहरूले अफगानिस्तानको राजधानी काबुल र पूर्वी राज्यहरूमा आफ्ना गतिविधिहरू सञ्चालन गर्दै आएका छन्। उक्त समूहले विशेष गरी सुरक्षा निकायका उच्च पदाधिकारीहरूलाई आक्रमणको निसाना बनाउँदै आइरहेका छन्।

आक्रमणमा ठूलो मात्रामा विस्फोटक पदार्थ, लाइटसहित दुईवटा सवारी साधन नष्ट भएको गृहमन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। गृहयुद्धको चपेटामा रहेको अफगानिस्तानको राष्ट्रिय सुरक्षा बलले सरकारविरोधी गतिविधि गरिरहेका समूहहरूका विरुद्धको सुरक्षा कारबाही चलाइरहेको छ।

हक्कानी समूहलाई संयुक्त राष्ट्रसंघले सन् २०१२ देखि आतंककारीको सूचीमा राखेको छ।

प्रतिक्रिया दिनुहोस्