पाकिस्तानमा १२ राष्ट्रको सहभागितामा महिला सांसद सम्मेलनको सुरु



इस्लामाबाद, १ चैत । बाह्र राष्ट्रका महिला सांसदहरुको सहभागितामा “प्रजातन्त्रको सशक्तिकरणमा महिलाहरुको भूमिका विषयक एक अन्तर्राष्ट्रिय सम्मेलन पाकिस्तानमा सुरु भएको छ ।

पाकिस्तानले आतिथ्य गरेको यो सम्मेलन हिजो सोमबारबाट सुरु भएको हो । पकिस्तानका प्रधानमन्त्री नवाज सरिफकी पुत्री मारियम नवाजले हिजो आयोजित एक समारोहकाबीच उक्त तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभएको थियो । यो सम्मेलन १३ बाट १५ सम्म जारी रहने भएको छ ।

उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री सरिफपुत्री मारियमले महिलाबिना कुनै पनि प्रजातान्त्रिक समाजको परिकल्पना गर्न नसकिने बताउनुभएको थियो ।

उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा आतिथ्य राष्ट्र पाकिस्तानलगायत इरान, इराक, टर्की जोर्डन, अस्ट्रेलिया, रोमानिया, म्यानमार, श्रीलङ्का, माल्दिभ्स, इन्डोनेसिया र नेपालका उल्लेख्य महिला सांसदको सहभागिता रहेको छ । रासस/एपी

प्रतिक्रिया दिनुहोस्