नेदरल्यान्डमाथि प्रतिबन्ध लगाउन एर्डोगानको आह्वान



अंकारा, (एजेन्सी)
एक र्यालीलाई सम्बोधन गर्न टर्कीका दुई जना मन्त्रीलाई नेदरल्यान्डस् सरकारले रोक लगाएपछि टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले नेदरल्यान्डविरुद्ध अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाउन सोमवार आह्वान गरेका छन्।

आगामी महिना टर्कीमा हुन गइरहेको जनमत संग्रहका लागि नेदरल्यान्डमा चुनावी प्रसारप्रचारका लागि आफ्ना गृह मामिलासम्बन्धी र विदेश मन्त्रीहरुलाई रोक लगाएपछि एर्डोगानले यो कदम चालेका हुन्।

ती दुई मन्त्रीहरुलाई आफ्नो दूतावासनजिकै आयोजना हुने भनिएको र्याली हुनेस्थलमा जानका लागि डच प्रहरीले रोक लगाएपछि तनाव शुरू भएको थियो।
टर्कीमा आगामी महिना हुन गइरहेको जनमत संग्रहमा राष्ट्रपति एर्डोगानको पक्षमा अधिकतम मत प्राप्त गर्ने उद्देश्यले विदेशमा पनि समर्थन जुटाउन एर्डोगान सरकार प्रयासरत छ।

यस घटनालाई लिएर एर्डोगानले डच सरकारको आलोचना गर्दै नेदरल्यान्ड सरकारले नाजीहरूको अवशेष र फासिष्टवादको पराकाष्ठा प्रदर्शन गरेको भनी टिप्पणी गरेका छन्। यस टिप्पणीको पनि अन्तर्राष्ट्रिय जगत्मा नै विरोध भएको छ। टर्कीले युरोपेली देशहरूमा जनमतसंग्रहलाई लक्षित गरेर र्याली आयोजना गर्न गरिरहेको विवादास्पद प्रयासको कैयौं युरोपेली नेताहरुले टर्कीको आलोचना गरेका हुन्।

फ्रान्स र संयुक्त राज्य अमेरिकाले धेरै लामो समयदेखि अंगीकार गर्दै आएको राजनीतिक प्रणाली अर्थात् राष्ट्रपतिलाई कार्यकारी अधिकार टर्कीमा पनि दिन हुन्छ वा हुँदैन (येस अर नो) भन्ने प्रश्न राखी आगामी १६ अप्रिलका दिन टर्कीमा संविधान संशोधन गर्ने विषयमा जनमत संग्रह सम्पन्न हुन गइरहेको छ।

जनमत संग्रहमा राष्ट्रपतिलाई कार्यकारी अधिकार दिने गरी संविधान संशोधन गर्न हुन्छ (येस) पक्षमा परिणाम आएमा वर्तमान राष्ट्रपति एर्डोगानको राजनीतिक शक्ति स्थायी र मजबुत हुने हुँदा सरकार र एर्डोगान समर्थकले प्रचारप्रसारलाई तीव्रता दिइरहेका छन्। सन् २००३ मा टर्कीको प्रधानमन्त्रीे पदबाट उच्च शक्ति हासिल गर्दै एर्डोगान सन् २०१४ मा राष्ट्रपति बन्न सफल भएका थिए।

प्रतिक्रिया दिनुहोस्