हङकङमा गुञ्जियो नेपथ्य



भिन्न फरक पुस्ताका भिन्न समझदारीले दूरी बढाउँदै लगेको हङकङस्थित नेपाली समाजमा चर्चित सांगीतिक समूह नेपथ्यले फेरि आफूलाई सेतुका रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छ।

हङकङका पुराना पुस्ता नेपालबाट आउने मनोरञ्जनात्मक कार्यक्रममा रमाउने गर्छन्। त्यहाँ हुर्केका नयाँ पुस्ता नेपालबाहेकका स्वादमा आफूलाई ढाल्दै लगिरहेका छन्। यस्तो बेला आइतबार यहाँस्थित युन लुङ थिएटरमा दुवैथरी शुरुदेखि अन्तिमसम्मै रमाए।

नेपथ्यले कार्यक्रमको शुरुआत कुरूप अनुहार हो, यहाँ कोही साथी छैनबाट गरेको थियो। झन्डै साँढे ४ दशकअघि यो गीत तयार पारेका विक्रम गुरुङले नेपाली संगीतलाई कुनै समय महत्त्वपूर्ण योगदान दिएका थिए। अरुण थापाका प्रारम्भिक लोकप्रिय गीतहरुका यी संगीतकारले झन्डै ३ दशकदेखि हङकङमा शिक्षण पेसा अँगाल्दै आएका छन्। कुनै जमानामा त्रिविवि कीर्तिपुरको विद्यार्थी रहँदा कोठामा सँगै बस्ने साथी सरुभक्तले लेखेका लाइनलाई संगीतबद्ध गरेका उनै विक्रम गुरुङको निम्ति आइतबारको नेपथ्य हङकङ साँझ नोस्टाल्जिक बन्न पुग्यो।
‘युवा अवस्थामा तयार पारेको यो गीत भर्खरै पहिलोपटक सुन्दै छु, गुरुङ भन्दै थिए– ‘नेपथ्यले आफ्नै शैलीमा प्रस्तुत गरे पनि मेरो उति बेलाको मुड यसमा अटाएको पाएँ।’

संगीतमा एउटै थिमलाई पनि फरक–फरक प्रस्तुतिले सजाउने गरेको बताउने गुरुङले गीत सुनेर आफू सन्तुष्ट भएको खुलाए। एउटा उराठलाग्दो दिनमा कीर्तिपुरमा जन्मेको यो गीतले यति लामो समयपछि फेरि आफूलाई कर्मथलो हङकङमै बसेर पनि त्यही क्षणमा पुर्याएको उनले थपे। ‘आज होलीको दिन म तपाईंहरुसँग रंग खेल्नको निम्ति आइपुगेको छु, कार्यक्रमको प्रारम्भमै गायक अमृत गुरुङले टनाटन भरिएका दर्शकलाई तताउने प्रयासमा संवाद गरे– ‘शब्द र संगीतको यो रंगमा नेपालको माया भरिएको छ।’

यहाँस्थित तमु ट्हो ह्युलले आयोजना गरेको आठौं रोदी साँझको यो प्रस्तुतिमा नेपथ्यका नयाँ पुराना गीतहरुको मिश्रण थियो। ‘हङकङमा हामीले हेर्ने कार्यक्रम र हाम्रा छोराछोरीले हेर्ने कार्यक्रम एकदमै फरक छ’, अढाइ दशकदेखि हङकङ बस्दै आएका यातायात व्यावसायी शेरबहादुर पुनले भने– ‘तर, नेपथ्यको कार्यक्रम हेर्ने बेलामा भने बुढापाकादेखि यतै हुर्केका केटाकेटीसम्मको उत्तिकै भीड देख्दा रमाइलो लाग्यो।’

आफैंमा अत्याधुनिक युन लुङ थिएटरले उपलब्ध गराउने प्रकाश र ध्वनिको सुविधासमेत अरू बेला नेपालबाट आउने प्रस्तोताहरुले पूर्णरूपमा प्रयोग गर्न नसकिरहेको बेला नेपथ्य कन्सर्टका दिन भने हलको सुविधाले समेत नपुगेर बाहिरबाट ठूल्ठूला ट्रकमा लाइट र साउन्ड सिस्टम ल्याइएको थियो।

२ घन्टासम्म चलेको कार्यक्रममा नेपथ्यले अत्यधिक मात्रामा नयाँ सिर्जना गरिएका गीतहरु सुनाएको थियो। त्यसैलाई निरन्तरता दिँदै कार्यक्रमको अन्त्य पनि मुलुकलाई जोड्ने सन्देश बोकेको तिमी पनि नेपाली म पनि नेपाली हामी नेपालीबाट गरिएको थियो।

कार्यक्रममा नेपथ्यका मुख्य गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए। नेपथ्यको आगामी प्रस्तुति अब उसकै गृहनगर पोखरामा चैत २६ गते हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्